वीरगञ्ज । छठ पर्वअन्तर्गत बुधबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।
साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँछन् । उक्त ‘रसीआव रोटी’ चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् । त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् ।
जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
कठोर व्रत गरेर मनाइने छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ l
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व विधिवत रुपमा मंगलबार शुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी छठ पर्व मनाउने गरिन्छ ।
अहिले काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा छठको विशेष रौनक छ । नदी, पोखरी र खोला किनारहरुमा बनाइएको छठ घाट झकिझकाउ छन् । छठीमाताको भक्तिगानले गुन्जिरहेका छन् l
छठको पहिलो दिनलाई भोजपुरी भाषामा ‘नहाए खाए’ अर्थात ‘नुहाएर खानु’ भनिन्छ । नहाय खायको दिन महिलाहरु आँपको दतिउनले दाँत माझ्ने, हात खुट्टाको नङ्ग काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन् । पहिलो दिन व्रतालुले लसुन, प्याज र मसुरोको दाल विना खाँदैनन् । यसदिन अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्दछ ।
यस पर्वमा व्रतालु महिलाहरु नहाय खायको दिनदेखि शारीरिक शुद्धताको ख्याल गरी ब्रह्मचार्यको समेत पालना गर्दछन् । नहाय खायको दिनदेखी छठी माईको घरमा आगमन भएको धार्मिक मान्यता अनुसार छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरुले समेत शुद्ध शाकाहारी भोजन गर्दछन् ।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । यसदिन साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउदो सूर्यलाई अर्घ दिन्छन् । सूर्यसँग आफूले चिताएको कुरा माग्छन् । भाकल गरेकाहरुले त्यस दिन घरमा आएर छठी मातालाई खुशी पार्न “कोशी” भर्ने गर्दछन् । यस दिनलार्ई ‘सँझीया घाटे’ पनि भनिन्छ ।
भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ । सप्तमी तिथिको उदाउँदो सूर्यलाई जलाशयमा गई अर्घ दिएर प्रार्थना गर्छन् । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्व छठमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।