छठ पर्वलाई लक्षित गर्दै घडिअर्वा पोखरी छठघाटमा कडा सुरक्षा तयारी
-
संजय कुशवाहा
- today८ कार्तिक २०८२
वीरगंज,०८ कार्तिक आगामी छठ पर्वका अवसरमा वीरगंज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिँदै, जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायहरूले पूर्ण सुरक्षा तयारीका साथ चाड मनाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
। शनिवार घडिअर्वा छठपूजा व्यवस्थापन समितिद्वारा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूले सम्भावित जोखिम न्यूनीकरण, भीड व्यवस्थापन तथा आकस्मिक उद्धारका लागि प्रभावकारी योजना लागू गर्ने निर्णय गरेका हुन्। समितिका अनुसार यस वर्ष करीब १ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्न घडिअर्वा पोखरीमा आउने अनुमान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले भीड व्यवस्थापनलाई सर्वाधिक प्राथमिकता दिइएको बताउँदै, जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। प्रहरी उपरीक्षक सुदीपराज पाठकले स्वयंसेवकहरूसँग समन्वय गर्दै पोखरी परिसरमै एक प्रहरी अधिकृतको नेतृत्वमा कन्ट्रोल रुम स्थापना गरिने बताए। उनले थपे, “घटनाहरूमा तत्काल प्रतिक्रिया दिन सकियोस् भनेर २० भन्दा बढी सीसीटीभी क्यामेरा सक्रिय गरिनेछ।” त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पोखरीको जल क्षेत्रलाई ध्यानमा राख्दै मोटरेबल बोटसहितको सुरक्षा टोली, महिला सुरक्षाकर्मी र गोताखोरहरू समेत तयारी अवस्थामा रहने जानकारी दिए। छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले विगतका अनुभवका आधारमा यस पटक सजगता र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाइएको बताए। उनका अनुसार, सुरक्षासँगै घाटको सरसफाइ, प्रकाश व्यवस्था र जनसहभागिता सुनिश्चित गर्न पनि समन्वय गरिएको छ। सुरक्षा उपसमितिकी मुना साहले घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना प्रशिक्षित स्वयंसेवकहरू खटाइने जानकारी दिइन्। साथै, प्रभाकर गुप्ताले छठघाट नजिकै एम्बुलेन्स, दमकल तथा प्राथमिक उपचार केन्द्र पनि उपलब्ध गराइने बताए। बैठकमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, वडा प्रतिनिधि, ट्राफिक प्रहरी, स्थानीय प्रहरी, क्लब पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थितिमा सुरक्षा योजना अन्तिम रूप दिइएको थियो। सुरक्षा निकायहरूले “छठ पर्व धार्मिक आस्था र सामाजिक शान्तिको पर्व” भएको उल्लेख गर्दै भक्तजनहरूले निस्फिक्री र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने सुनिश्चितता प्रदान गर्न सबै तयारी पूरा भइसकेको जनाएका छन्।