बढ्दै वायु प्रदूषण, सरकार नियन्त्रण भन्दा मापनमा व्यस्त !
-
बिराज यादव
- today०७ बैशाख २०८०
वीरगञ्ज, ८ वैशाख । अग्नीपथ ।
डढेलोका कारण वायु प्रदूषण उच्च भएको छ । हावाले डढेलोको धुवाँ उडाएर गाउँगाउँ पु¥याएपछि प्रदूषणको मात्रा उच्च भएको हो । जसकारण अधिकांश क्षेत्रको आकाश धुम्म छ । बारा, पर्सा, चितवनलगायत क्षेत्रमा यसअघि नै प्रदूषण उच्च थियो । डढेलोका कारण वायुमा प्रदूषणको मात्रा झनै उच्च भएकार गएको हो ।
प्रदूषणको मात्रा उच्च भएपछि वातातावरण विभागले चेतावनी जारी समेत गरेको छ । काठमाडौं उपत्यकासहित मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यलाई हानि गर्ने अवस्थामा पुगेको भन्दै विभागले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको हो । साथै, अन्य उमेर समूहका व्यक्तिलाई पनि घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
बिहान र बेलुका प्रदूषणको मात्रा अत्यधिक बढेको छ । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको विज्ञप्तिमा वन डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्नु आमसमुदायलाई विभाग अपिल गरिएको छ भने फोहोरजन्य वस्तु नबाल्न भनिएको छ । नेपालमा पछिल्लो ६ दिनमा तीन हजार चार सय ३५ स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार यस वर्ष हिउँदमा निकै कम वर्षा भएकाले डढेलो बढेको हो ।
तराई क्षेत्रमा भने धानको परालमा लगाइने आगोका कारण पनि वायु प्रदूषण बढेको देखिएको छ । पोहोर–परारका वर्षहरुमा कृषकहरुले जडैबाट बालि काटेर लग्ने गर्थे । तर, अचेल बालि काट्नका लागि प्रयोग भईरहेको कम्बाइन्ड हारभेस्टर मेसिनले पराल खेतमै छोड्दिने गर्छ । खेतमै छाडिएका परालमा पछि कृषकहरुले आगो लगाइदिने गर्छन् । जसका कारण वायुमा प्रदूषणको मात्रा बढेको हो ।
तीन तहकै सरकारहरू वायु प्रदूषण नियन्त्रण गर्नभन्दा मापन गर्न मात्रै रमाइरहेका छन् । दाताहरूको सहयोगमा वायु प्रदूषण मापन गर्नेबाहेक प्रदूषण नियन्त्रणमा संघ सरकारको रुचि नै देखिंदैन । सरकारले दाताको सहयोगमा स्थापित वायु गुणस्तर अनुगमन केन्द्रहरू चुस्त ढंगले चलाउन पनि सकेको छैन ।
वातावरण विभागले गत साउनमा प्रकाशित गरेको वायु गुणस्तर प्रतिवेदन, २०२१ ले पनि वायु प्रदूषणको कारण र जोखिमबारे औंल्याउँदै सरकारी नीति सम्झाएको छ । निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने मानिसहरू सबैभन्दा बढी वायु प्रदूषणको चपेटामा पर्ने गरेका छन् । प्रतिवेदनले हावाको गुणस्तर अस्थायी र स्थानीय रूपमा फरक भएको देखाएको छ । वायु प्रदूषणले खतराको तह पार गर्दा पनि सरकार निरोधका लागि अग्रसर भएको देखिंदैन ।
नेपालमा वायु प्रदूषण बढ्ने मूल कारण डढेलो नियन्त्रण वन र वन्यजन्तुको संरक्षणको हिसाबले पनि धेरै महत्वपूर्ण विषय हो । तर, सरकारलाई डढेलोको नियन्त्रणमा खासै चासो छैन ।