श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
-
बिराज यादव
- today५ श्रावण २०८२
श्रावण महिनाको सोमबारी व्रत हिन्दू धर्मालम्बीहरूका लागि अत्यन्त पवित्र र आस्थाको विषय हो। यो व्रत धनी–गरिब सबैले उत्तिकै श्रद्धाका साथ गर्छन्। तर, आस्थाको पर्वलाई व्यापारको सुनौलो अवसर बनाउने केही व्यापारी प्रवृत्तिका कारण यो व्रत अब आर्थिक बोझ बन्दै गएको छ। फलफूलको मूल्य यति उच्च बनाइन्छ कि आर्थिक रूपमा कमजोर वर्गले फलहार गर्न समेत सक्दैनन्। समान आस्था, असमान मूल्य – यही नै अहिलेको वास्तविकता हो।
केरा, स्याउ, कागती, नरिवलदेखि लिएर दूध, घ्यु, आर्युवेदिक पदार्थसम्म, श्रावण सोमबार सुरु हुनासाथ बजार मूल्य दिनहुँ आकासिन्छ। पर्व सकिनासाथ ती समानको मूल्य ह्वात्तै झर्छ। यति ठूलो मूल्य उतार–चढाव किन? के यो धार्मिक संवेदनशीलतालाई उपयोग गरी गरिने संगठित मुनाफाखोरी होइन? यसका पछाडि मुख्य कारण हो – बजारमा व्यापारी र बिचौलियाको मनपरी मूल्य निर्धारण, कृत्रिम अभाव सिर्जना, र राज्य नियामक निकायहरूको लाचारी। बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालय र उपभोक्ता संरक्षण निकायहरूसँग भए पनि तिनीहरू पर्वको समयमा मौन बस्ने परिपाटी दोहोरिन्छ। सधैंजस्तै प्रश्न उब्जिन्छ – अनुगमन किन हुँदैन? अनुगमन गर्ने निकाय मौन किन छन्?
यस्ता पर्वमा त राज्य अझ बढी सतर्क हुनुपर्ने हो, किनकि यिनै मौकामा व्यापारीहरूले धर्म र भावनालाई बिक्रीमा राख्छन्। तर, देखिन्छ – सरकार र सम्बन्धित निकायका आँखा अझै बन्द छन्। धार्मिक पर्वमा मूल्यवृद्धिको यस्तो प्रवृत्तिले "धर्म गर्ने हैसियत" नै पैसाले निर्धारण गर्ने जस्तो अवस्था सिर्जना भएको छ। यस्तो विकृति तत्काल रोकिएन भने आस्था पनि लुटको बजार बन्ने निश्चित छ।
अब समय आएको छ – सरकारले मौनता तोडोस्। आस्थामाथि गरिएको मुनाफाखोरीको यस्ता खेल बन्द गराउनका लागि दिगो, पारदर्शी र नियमित बजार अनुगमन अनिवार्य बनाइनु पर्छ। जनताको आस्था बेच्ने होइन, जोगाउने नीति आवश्यक छ – श्रद्धालाई बोझ बनाउने मूल्यवृद्धि बन्द गर! पर्वमा मात्र होइन, सधैंको लागि निष्पक्ष बजार व्यवस्था गर!