भारतको सहायता पाउने दोस्रो देश नेपाल‚ पहिलोमा भूटान
-
अशोक यादब
- today२० माघ २०८१
नयाँदिल्ली : भारत सरकारले आर्थिक वर्ष सन् २०२५-२६ का लागि ५४ अर्ब ८३ करोड छुट्याएको छ। गत आर्थिक वर्षमा दिएको सहयता रकम ५८ अर्ब ६ करोड रुपैयाँभन्दा यो कम हो।
भूटानलाई सर्वाधिक सहयोग
भारतबाट सबैभन्दा बढी सहायता पाउने देश भूटान बनेको छ। भारतले यो आवमा २१ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। गत आवमा भारतले २५ अर्ब ४३ करोड रुपैयाँ दिएको थियो। भूटानमा भौतिक पूर्वाधार‚ जलविद्युत परियोजना र आर्थिक सहयोगका लागि उक्त रकम दिने गरेको छ।
भारतले नेपाललाई ७ अर्ब रुपैयाँ सहायता गर्ने भएको छ। उक्त रकम गत वर्षकै बराबर हो।
भारतले मालदिभ्सलाई ६ अर्ब रुपैयाँ दिने भएको छ। यसअघि गत आवमा उक्त रकम ४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो। मालिभ्समा राष्ट्रपति मोहम्मद मुइज्जू सत्तामा आउनासाथ बिग्रिएको सम्बन्ध रक्षामन्त्री घसन माउमूनले भारत भ्रमण गरेसँगै सहयोग राशि वृद्धि भएको हो।
यसैगरी भारतले म्यान्मालाई ३ अर्ब ५० करोड रुपैयाँ दिने भएको छ। गत आवमा दिएको ४ अर्बभन्दा कम रकम छुट्याइएको छ।
यसैगरी भारतले श्रीलंकालाई ३ अर्ब रुपैयाँ दिने भएको छ।
भारतले बंगलादेशलाई १ अर्ब २० करोड रुपैयाँ दिने भएको छ। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनालाई शरण दिएपछि भारत र बंगलादेशबीच तनावपूर्ण अवस्था छ।
भारतले अफगानिस्तानलाई दिँदै आएको ५० करोड बढाएर १ अर्ब रकम पुर्याएको छ। भारतले तालिबान सरकारलाई मान्यता नदिए मानवीय सहायता र आर्थिक सहयोग भने गर्दै आएको छ।
अफ्रिकी देशहरूलाई २ अर्ब २५ करोड रुपैयाँ दिने भएको छ। लातिन अमेरिकाका लागि ६० करोड रुपैयाँ दिने भएको छ। चाबहार बन्दरगाहका लागि इरानलाई १ अर्ब रुपैयाँ दिने भएको छ।
राहत र सांस्कृतिक कूटनीति बढाउँदै भारत
भारतले विपत्ति राहत रकमका लागि ६४ करोड रुपैयाँ छुट्याएको छ। संसारभर जहाँसुकै भएका विपत्तिकामा भारतले उक्त सहयोग दिँदै आएको छ।
भारतले सांस्कृतिक कूटनीतिका लागि ३ अर्ब ५१ करोड रुपैयाँ छुट्याएको छ। भारतीय सांस्कृतिक सम्बन्ध परिषद्मार्फत उक्त सहयोग गर्दै आएको छ भने अन्ताराष्ट्रिय प्रशिक्षण कार्यक्रमका लागि १२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको छ।