भक्तपुरकी प्रतिमा कस्पाललाई बिरामीको कुनै अनुभव नै थिएन। अरुले यस्तो बिरामी भएँ, यता दुख्यो, उता दुख्यो भनेर सुनाउँदा उनलाई लाग्थ्यो- कहिलेकाहीँ ज्वरो आइदिए पनि कति आनन्दले सुत्न पाइन्थ्यो। २९ वर्षको उमेर हुँदासम्म उनले अस्पतालको मुख नै देखेकी थिइनन्। गर्भवती हुँदा र बच्चा जन्मिएको बेलामा मात्रै उनी अस्पताल टेकेकी थिइन्। बच्चै छँदा उनी तीन पटक मृत्युको मुखमा पुगेर बाँचेकी थिइन रे। तातोपानी जिउमा खनिएको, पोखरीमा डुबेको र छतबाट खसेर पनि बाँच्न सफल भएको कुरा प्रतिमालाई आमाबुबा, दाजुदिदीले सुनाउने गर्थे। कहिल्यै रुघाखोकीको समेत अनुभव नगरेकी प्रतिमाले एकैपटक क्यान्सरको सामना गर्नुपर्यो। उपचारपछि क्यान्सर जितेर उनी दुई महिनामै काममा फर्किइन्। अहिले पनि उत्तिकै सक्रिय जीवन विताइरहेकी उनी आफूजस्तै स्तन क्यान्सर लागेका महिलाको प्रेरणा बनेकी छिन्।
सानै उमेरमा व्यवसाय भक्तपुर गुण्डुमा हो, प्रतिमाको माइती। ८ दिदीबहिनीमध्ये सबैभन्दा कान्छी हुन् उनी। दूधपाटीमा रहेको भक्तपुर कन्या स्कुल पढ्थिन्। पढाइमा खासै मन गएन। कक्षा ९ पढ्दा–पढ्दै छाडेर पार्लरको काम सिक्न थालिन्। काम सिकेपछि उनले आफ्नै साथीले खोलेको पार्लरमा केही महिना काम गरिन्। यसबीचमा सिलाइको काम पनि सिक्न थालिन्। पछि सिलाइ सिकाउने व्यक्तिकै पार्लरमा काम गर्न थालिन्। दुवैतिर करिब १ वर्ष काम गरेपछि उनलाई आफैँ व्यवसाय सुरु गर्न मन लाग्यो। क्यान्सर नै भयो कि भनेर मनमा एक खालको तनाव भइसकेको थियो। तर पनि होइन होला भनी मनलाई सान्त्वना दिइरहेकी थिइन्।
सक्छु भन्ने हिम्मत पनि पलायो। उनको हिम्मतमा घरबाट समेत साथ मिल्यो। आफैँले काम गरेर पनि केही पैसा जम्मा गरिसकेकी थिइन्। करिब ५० हजार लगानी गरेर उनले सूर्यबिनायक चोकमा कस्मेटिक पसल र पार्लर व्यवसाय सुरु गरिन्। २० वर्षको उमेर नपुग्दै उनले व्यवसायमा हात हालिन्। पछि सिलाइको व्यवसाय पनि थपिन्।
२०६६ सालमा भक्तपुर कुटुञ्जेका विनेश कस्पालसँग प्रतिमाको मागी विवाह भयो। विहे गर्ने बेलासम्म उनी व्यवसायमा जमिसकेकी थिइन्। महिनामा ५०–६० हजारसम्म कमाइ हुन्थ्यो। बिहेपछि उनी पतिको घरमा भित्रिइन् अनि पतिलाई आफ्नो व्यवसायमा भित्र्याइन्। बिहेअघि विनेश कुनै निजी कम्पनीमा जागिर गर्थे। पार्लर, कस्मेटिक पसल र ट्रेलर एकै ठाउँमा थियो, दुवैजनालाई भ्याइनभ्याइ हुन्थ्यो। ३–४ जना कर्मचारी पनि थिए। यसबीचमा उनीहरुको छोरा जन्मिए। परिवार, व्यवसाय सबैतिरबाट खुसी नै खुसी थियो। जीवन आफ्नै रफ्तारमा अघि बढिरहेको थियो।
जब क्यान्सर देखियो २०७३ साल असार महिना प्रतिमालाई ठ्याक्कै दिन याद छैन, केही असजिलो महसुस भएपछि उनले आफ्नो दायाँ स्तन छामिन्। स्तनमा झण्डै हातभरिको गाँठो देखियो। उनले कतै सुनेकी थिइन्–स्तनमा गाँठो देखियो भने क्यान्सर हुनसक्छ भनेर। पतिलाई सुनाइन्, उनले पनि क्यान्सर हुनसक्छ भनेर सचेत गराए। तत्काल जाँच गर्न जाने कि नजाने प्रतिमा दोधारमा परिन्। साउन महिना र तीज उनको सबैभन्दा व्यापार हुने समय थियो। अहिल्यै गएर उपचार गराइहाल्नु पर्यो भने व्यापारमा धेरै नोक्सान हुने देखेर तत्काल जाँच गर्न नजाने निष्कर्षमा पुगिन्। साउनको व्यापार सकियो, तीजको पनि सकियो। तीजको भोलिपल्टै २०७३ भदौ २२ गते उनी साथीलाई लिएर भक्तपुर क्यान्सर अस्पताल पुगिन्। जाँच गर्नेवित्तिकै डाक्टरले क्यान्सरकै शंका गरे।
थाहा पाउनेबित्तिकै नआएको भनेर डाक्टरले गाली पनि गरे। प्रतिमालाई थाहा थिएन, क्यान्सर छिट्टै फैलिन सक्छ, शंका लाग्नेबित्तिकै जाँच गर्नुपर्छ भनेर। होकि होइन पुष्टि गर्नका लागि रगत जाँच गर्न दिएर उनी अस्पतालबाट फर्किइन्। कुनै रोग लाग्दा समाजमा गलत सल्लाह दिने पनि हुन्छन्। त्यो सुनेर गलत बाटोमा लाग्दा ज्यान समेत जाने उनी आफैँले देखेकी छिन्। क्यान्सर नै भयो कि भनेर मनमा एक खालको तनाव भइसकेको थियो। तर पनि होइन होला भनी मनलाई सान्त्वना दिइरहेकी थिइन्। क्यान्सर नै भएपनि उपचार गर्दा निको भइहाल्छ, भनेर डाक्टरले पनि ढाडस दिएका थिए।
तीन दिनपछि प्रतिमा पति विनेशलाई लिएर अस्पताल गइन्। आफू टिकट काट्न लाइन बसेर विनेशलाई रिपोर्ट लिन पठाइन्। रिपोर्ट हेरपछि उनलाई थाहा भएछ, प्रतिमालाई क्यान्सर भयो भनेर। असह्य पीडा भएपछि विनेश शौचालयमा गएर निकैबेर रोएछन्। प्रतिमाको अगाडि पर्दा केही बोल्न सकेनन्, आँखाभरी आँसु बनाएर चुपचाप उभिइरहे। पतिको त्यो अवस्था देखेर प्रतिमाले थाहा पाइसकेकी थिइन्, आफूलाई क्यान्सर देखिएको कुरा। केही बोल्न सकिनन्। एक्कासी आँसु झर्न थाल्यो। त्यो पीडादायी क्षणमा दुईबीचको मौनता कुन शब्द वा संवादबाट तोडियो, प्रतिमालाई याद छैन। प्रतिमाकी आमा र दुई फुपू क्यान्सर भएरै बितेका थिए। आमालाई हड्डीको क्यान्सर भएको थियो, फुपूहरूलाई पाठेघरको। यसकारण पनि क्यान्सर भएपछि मान्छे बाँच्दैन भन्ने धारणा गडेर बसेको थियो।
प्रतिमालाई सबैभन्दा पीर भर्खर ५ वर्ष पुगेको छोराको भयो। उनले सोचिन्–सानै छ म मरेपछि उसको हालत के होला ? पति विनेशलाई पनि सबैभन्दा बढी त्यही चिन्ताले सताएको थियो रे। डाक्टरलाई रिपोर्ट देखाएपछि केही राहत मिल्यो। क्यान्सर सुरुकै चरणमा थियो। ‘फर्स्ट स्टेज’ भन्दा केही अगाडि गएको रहेछ। तर आत्तिन नपर्ने डाक्टरले सुनाए। अप्रेसन गरेपछि ठिक हुने भनेपछि जतिसक्दो छिटो अप्रेसन गर्ने निधो गरी घर फर्किए। पीर हुन्छ भनेर पतिपत्नी बाहेक अरुलाई थाहा नदिने सल्लाह भयो। अप्रेसनका लागि पालो कुर्नुपर्ने हुन्थ्यो। डाक्टरले भरोसा दिएपनि प्रतिमालाई दुविधा लागिरहेको थियो–क्यान्सर पूरै निको हुन्छ कि हुँदैन भनेर। नराम्रो सोचेर धेरै पिरोलिनु भन्दा पक्कै ठिक होला भन्ने सोच राखेर आफूलाई सम्हाल्ने प्रयास गरिरहिन्।
अस्पतालबाट फर्किएको दुई दिनपछि भदौ २७ गते उनको छिमेकी घरमा श्राद्ध थियो। छिमेकी, आफन्तलाई डाकिएको थियो। त्यहाँ भान्साको पूरै कामको जिम्मा प्रतिमाले नै सम्हाल्नु पर्यो। उनलाई क्यान्सर देखिएको कुरा पतिबाहेक कसैलाई थाहा थिएन। त्यहाँबाट फर्किनै लाग्दा भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो– तपाईंको भोलि अप्रेसन हुन्छ, अस्पताल भर्ना हुन आउनू। त्यति छिट्टै पालो आउने थिएन, संयोगबस त्यो दिन अप्रेसन तोकिएका व्यक्ति नआउने भएपछि प्रतिमालाई बोलाइएको रहेछ। पतिलाई लिएर तुरुन्तै उनी अस्पताल पुगिन्। भर्ना भएर अस्पतालको शय्यामा बसेपछि मात्रै उनले आफ्नो अवस्थाबारे जानकारी दिन आफन्तहरूलाई फोन गर्न थालिन्। माइतीमा खबर गरिन्। अरु नजिकका आफन्तलाई सुनाइन्। सुरुमा कसैले पनि पत्याएनन्। मजाक गरेको भनेर कसैले त उल्टै गाली गरे। खबर पाएपछि थुप्रै आफन्तहरू अस्पतालमा भेला भए। भोलिपल्ट भदौ २८ गते उनको अप्रेसन भयो। दायाँ स्तन काटेर फालियो, अब उनी क्यान्सरको जोखिमबाट मुक्त भइन्। अंग काटेर फाल्ने कुराले चिन्ता लागेन ? यो प्रश्नमा प्रतिमा भन्छिन्, ‘त्यो बेला कसरी बाँच्ने भन्नेमा मात्रै ध्यान भयो, अरु केही सोचिनँ।’
दुई दिन अस्पताल बसेपछि उनी डिस्चार्ज भइन्। २२ दिनको फरकमा ६ वटा किमो चढाइयो। क्यान्सरबाट पूर्णरुपमा मुक्त भएको घोषणा चिकित्सकले गरे। एउटा औषधि भने उनले अझै पनि खाइरहेकी छिन्। उपचारपछि काममै व्यस्त अप्रेसनपछि प्रतिमाको आत्मबल दह्रो भइसकेको थियो। कसैले आफूलाई विचरा नभनोस् भन्ने लागिरहेको थियो। कसैले केही भनिहाल्ला कि, केही सोधिहाल्ला कि ठानेर निकै दिन घरबाट बाहिर निस्कँदै निस्किनन्। दुई महिना आराम गरेपछि फेरि नियमित पसलमा आउन थालिन्। तर पनि कति मान्छे पसलमै आएर विचराको भाव देखाउँथे। उनलाई लग्थ्यो– मलाई विचरा भनिरहनु पर्नेगरी के भएको छ र ? म पूरै फिट छु। उनका पहिलेका व्यवसाय यथावत थिए। ३ वर्ष अघिदेखि भने उनलाई ढाड दुख्ने, धेरै काम गर्दा हात बाउँडिने जस्ता समस्या देखिन थाले। डाक्टरले पनि आफूलाई धेरै गाह्रो हुने गरी काम नगर्नू भनेपछि पार्लर र सिलाइको काम छाडिदिइन्। अहिले कस्मेटिक पसल मात्रै चलाउँदै आएकी छिन्।
धेरैका लागि प्रेरणा आफू क्यान्सर भएर निको भएको, कमजोर छु भन्नेजस्तो कुनै भावना मनमा नआउने प्रतिमा सुनाउँछिन्। धेरैले आफूलाई उदाहरणका रुपमा प्रस्तुत गर्ने गरेको उनले पाएकी छिन्। कतिपयले ‘क्यान्सर भएर पनि ठिक हुँदो रहेछ त, काम गरेकै छ, हिँडेकै छ’ भन्ने गर्छन्। व्यवसायदेखि हरेक कुरामा पतिको अटुट साथले पनि उनलाई निकै सहज भएको छ। स्तन काटेर फालेपछि कतिको दाम्पत्य जीवनमै दरार आएको उनले देखेकी छिन्। स्तन क्यान्सर भएको थाहा पाएर अस्पतालमै अलपत्र छाडेर हिँडेका कुरा पनि उनले सुनेकी छिन्। ‘यसमा म लक्की छु, उहाँको पूरै आड-भरोसा छ’ प्रतिमा भन्छिन्। अहिले उनी उमङ्ग नामको संस्थामा जोडिएर आफूजस्तै स्तन क्यान्सर भएका महिलालाई सहयोग गर्ने र उत्प्रेरणा दिने काममा समेत लागेकी छिन्।
क्यान्सरको शंका लाग्नेवित्तिकै सबैभन्दा पहिलो अस्पताल गएर जाँच गराइहाल्न उनको सुझाव छ। कुनै रोग लाग्दा समाजमा गलत सल्लाह दिने पनि हुन्छन्। त्यो सुनेर गलत बाटोमा लाग्दा ज्यान समेत जाने उनी आफैँले देखेकी छिन्। उनकै टोलमा बस्ने एक महिलालाई प्रतिमालाई भन्दा पहिला स्तन क्यान्सर भएको रहेछ। प्रतिमाको अप्रेसन भएपछि उनीसँग भेट भएको थियो। हतारमा किन अंग काटेर फालेको भन्दै उनले प्रश्न गरेकी थिइन्। आफूले आयुर्वेदको उपचार गराइरहेकाले तिमीले पनि आयुर्वेदमै उपचार गराएको भए ठिक भइहाल्थ्यो नि भन्दै सम्झाएकी थिइन्। प्रतिमाले कुरा बुझाउँदा पनि उनले इन्कार गरिन्। क्यान्सर धेरै बल्झिएपछि मात्रै ती महिला अप्रेसन गर्न पुगिन्। तर निको हुन सकेन। तीन वर्षअघि उनी बितिन्। क्यान्सरको शंका लाग्नेवित्तिकै लाज, संकोच नमानी तुरुन्तै अस्पताल जानु मात्रै उत्तम विकल्प रहेको कुरा उनले दोहोर्याइन्। सबैलाई यही सुझाव सल्लाह दिँदै आएकी छिन्।सबैभन्दा ठूलो कुरा त बाँच्नु हो नि। ज्यान नै जोखिममा परेपछि केको लाज, केको घिन् ?’ प्रतिमा भन्छिन्।