जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा
-
अग्निपथ सम्बादाता
- today२४ पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
काठमाडौं, २४ पुष । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ ।
टियु मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो ।
जनकपुरले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।
लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे ।
लुम्बिनीका लागि विपुल शर्मा,दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २/२ तथा श्याड्ली भानले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो ।
लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे । लाहिरु मिलान्थाले १६ रन बनाए ।
जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।