सञ्चालनमा आयो दुर्घटनापछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग
-
अमन गुप्ता
- today१३ मंसिर २०८१
वीरगञ्ज । मकवानपुरको हेटौँडा–१५ स्थित चुरिया माई क्षेत्रमा अनियन्त्रित भएर पल्टिएको मोबिल कन्टेनरलाई हटाएपछि आज साँझ पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
प्रहरी र स्थानीयवासीको सक्रिय सहयोग तथा क्रेनको प्रयोगमार्फत कन्टेनर पन्छाएपछि सडक पुनः खोलिएको हो । यस क्रममा लामो समय जाममा फसेका सवारी साधनहरूको आवतजावत क्रमशः सहज बनाइएको छ ।
दुर्घटनामा घाइते भएका चालक महेश मोक्तानको स्वास्थ्य मध्यम रहेको हेटौँडा अस्पताल स्रोतले जनाएको छ । यसबिच, प्रहरीको प्रारम्भिक अनुसन्धानले तीव्र गति नै दुर्घटनाको मुख्य कारण भएको सङ्केत गरेको छ ।
यस क्षेत्रमा बारम्बार हुने यस्ता दुर्घटनालाई न्यूनीकरण गर्न स्थानीयले गति नियन्त्रणका लागि थप सावधानी अपनाउन र प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सडक सञ्चालनमा आएपछि यात्रुहरूमा सहजता र राहत महसुस भएको छ भने प्रहरी प्रशासनले सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न पुनः अनुरोध गरेको छ ।