बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या
-
अग्निपथ सम्बादाता
- today८ पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
वीरगञ्ज, ८ पुष । बारामा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
बाराको कलैया बरियारपुर सडकखण्डअन्तर्गत महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भूतही पूल नजिकै मोटरसाइकलमा सवार पाँचजनाको अज्ञात समूहले गोली प्रहार गर्दा भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको विहार राज्यस्थित मोतिहारी जिल्लाको छौडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार नम्बर खुल्न नसकेको दुईवटा मोटरसाइकलमा सवार एक समूहले यादवमाथि भूतही पूल नजिकै रहेको चियानास्ता पसलमा शुक्रबार दिउँसो साढे ५ बजेको करिवमा गोली प्रहार गरेको थियो ।
छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई बाराकै परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेको उनले बताए ।
यादवमाथि गोली प्रहार गर्नेहरु फरार रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको एसपी बोगटीले जानकारी दिए । यद्दपी चिया नास्ता पसलमा यादवसँगै रहेका दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि उनले बताए ।
स्रोतका अनुसार यादव पनि अपराधी हुन् । विभिन्न अपराध गरेर उनि भारतको मोस्ट वान्टेड सूचीमा समेत रहेको स्रोतले दावी गरेको छ । बिहिबार मात्र भारतबाट भागेर आफन्तको बस्ने आएका उनलाई अर्को ग्याङ्ग समूहका व्यक्तिले मारेको हुनसक्ने अनुमान गरिएको छ । यद्दपी यसको पुष्टि भइसकेको छैन ।
एसपी बोगटीले अनुसन्धानलाई तीव्र बनइएको बताउँदै हत्याराहरुलाई छिट्टै नियन्त्रणमा लिइने बताएका छन् ।