बारामा युवकको शव भेटियो, हत्या भएको आशंका
-
अग्निपथ सम्बादाता
- today२९ मंसिर २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
वीरगञ्ज, २९ मंसिर। बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।
तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको शव भेटिएको छ । कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरेका छौं’, उनले भने ।
काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ । उनीहरु मोबाइल स्वीच अफ गरी फरार छन् ।
शंकास्पद व्यक्तिहरु पक्राउ नपरेसम्म घटनाबारे थप विवरण पत्ता नलाग्ने बताउँदै प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।