फिलिपिन्समा जुर्मुराए जनता, नेपालमा जस्तै प्रदर्शनको तयारी
-
बिशाल यादब
- today३ आश्विन २०८२
मनिला । फिलिपिन्समा सरकार विरोधी प्रदर्शनको तयारी भइरहेको छ । ठुलो संख्यामा प्रदर्शनकारी आइतबार सडकमा उत्रिने गरी तयारी भइरहेको छ ।
सरकारले लगानी गरेका बाढी नियन्त्रण परियोजनाहरूमा भएको भ्रष्टाचारको विरुद्ध फिलिपिन्समा जनआक्रोश फैलिएको छ । त्यसैले पनि आइतबार ठुलो संख्यामा नागरिक उक्त प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ ।
‘ट्रिलियन पेसो मार्च’ नाम दिइएको यो प्रदर्शनलाई ग्रीनपीसले सन् २०२३ मा जलवायु सम्बन्धित परियोजनाहरूबाट ४१७.६ बिलियन रकम हिनामिना भएको अनुमान गरेको आधारमा नामकरण गरिएको हो ।
अघिल्लो महिना बाढीले फिलिपिन्सका विभिन्न भागमा ठुलो क्षति भएको थियो । राजधानीकै सडकहरू नदीमा परिणत भएका थिए । त्यहाँका जनता घण्टौँसम्म बाढीमा फसे भने दैनिक जीवन अस्तव्यस्त भयो ।
फोहोर पानी लगायतका कारणले ठुलो संख्यामा मानिस बिरामी भए । आफूहरूले सरकारलाई विभिन्न शीर्षकमा कर तिर्दै आए पनि उक्त रकम बाढीबाट बचाउने भौतिक पूर्वाधार विकासमा किन खर्च गरिएन भन्ने प्रश्नलाई लिएर जनआक्रोश बढेको छ ।
सामाजिक सञ्जालमा त्यहाँका नेताहरूलाई गोहीसँग तुलना गरेर मीम्स बनाइएको छ । एआई प्रयोग गरी उनीहरूलाई लालची राक्षसका रूपमा चित्रण गर्दै विभिन्न कन्टेन्ट बनाइएको छ । ‘नेपो बेबिज’ भनेर युवाले त्यहाँका नेताका छोराछोरीको विलासी जीवन उजागर गर्दै त्यसविरुद्ध जनमत सिर्जना गरिरहेका छन् ।
सेप्टेम्बर २१ को प्रदर्शन १९७२ मा तत्कालीन नेता फर्डिनान्ड मार्कोसले मार्शल ल (सैन्य कानुन) लगाएको दिनकै अवसर पारेर निर्धारण गरिएको हो । व्यापक जनअसन्तोष र भ्रष्टाचारको आरोपका बिच ठुलो जनआन्दोलनपछि मार्कोस सन् १९८९ मा देश छोडेर भाग्न बाध्य भएका थिए ।
उनकै छोरा अहिले राष्ट्रपति छन् । राष्ट्रपति फर्डिनान्ड बोंगबोंग मार्कोस जुनियरले आक्रोशित फिलिपिनोहरूलाई शान्त पार्ने प्रयास गरेका छन् । सोही क्रममा उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएका छन् । तर आन्दोलनको तयारीमा जुटेको समूहले भने राष्ट्रपतिको यो प्रयासलाई ‘समयको बर्बादी’ भनेका छन् ।
हालै नेपालमा जेनजी नेतृत्वको आन्दोलनले तत्कालीन सरकारलाई ढाल्यो । इन्डोनेसियामा पनि सांसदहरूलाई दिइएका विशेषाधिकारका कारण प्रदर्शनको शृङ्खला सुरु भएपछि सरकार त्यस्ता सुविधा कटौती गर्न बाध्य भएको छ । यही पृष्ठभूमिका फिलिपिन्सका युवाले प्रदर्शनको तयारी थालेका हुन् ।