लिपुलेक विवादले प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणलाई असर पार्छ ?
-
अमन गुप्ता
- today६ भदौ २०८२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै नै दुई छिमेकी मुलुक चीन र भारतको भ्रमणमा जाँदैछन् । तर यही बेला लिपुलेकको सीमा विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन् । शांघाई सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् । यस्तै भदौ ३१ मा भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
सरकार तयारीमा पनि जुटिरहेको बेला दुवै देशसँग जोडिएर लिपुलेकको विवाद बाहिर आएको छ । यो विवादले प्रधानमन्त्री ओलीको भ्रमण कतै प्रभावित त हुने होइन भन्ने आशंका भइरहेको छ । परराष्ट्र मामिलाका जानकारहरुले यही बेला दुवै देशको भ्रमण गर्न पाउनु नेपालका लागि ठुलो अवसर भएको बताएका छन् । शांघाई सम्मेलनको प्लेटफर्मको नेपालले भरपुर सदुपयोग गर्नुपर्ने उनीहरुको सुझाव छ । लिपुलेक लगायत अन्य सीमा विवादका विषय दुवै देशसँग प्रधानमन्त्रीले मिहिन ढंगले राख्नुपर्ने उनीहरुको भनाइ छ ।
कतिपय परराष्ट्र मामिलाका जानकार लिपुलेक विवादले भ्रमण प्रभावित हुनसक्ने बताउँछन् । यसअघि पनि लिपुलेकको विवाद आउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण रद्द भएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१५ मा चीन भ्रमणमा गएको बेला लिपुलेकाट सीमापार व्यापार गर्ने चीनसँग सहमति गरेका थिए ।
त्यतिबेला मोदी र चीनका राष्ट्रपति सी चिनफिङबिच भएको सम्झौतामा ‘दुवै पक्ष व्यापार वस्तुको सूची वृद्धि गर्न तथा नाथुला, किंगला, लिपुलेक नाकाबाट व्यापार विस्तार गर्न सहमत भएका छन्’ भनेर उल्लेख छ ।
त्यसबेला पनि नेपाललाई जानकारी नदिई चीन र भारतले सम्झौता गरेका थिए । त्यसमा तत्कालीन सरकारले विरोध जनाएको थियो । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो । चीनले त्यसको जवाफ पठाए पनि भारतले कुनै जवाफ पठाएन । भारतले बेवास्ता गरेपछि तय भइसकेको भ्रमणलाई कोइरालाले रद्द गरेका थिए । यसपटक पनि परिस्थिति करिब उस्तै छ ।
भारतकाका लागि पूर्वनेपाली राजदूत निलाम्बर आचार्य यसपटक सावधानीपूर्वक समस्याको समाधान गर्नुपर्ने बताउँछन् । ‘लिपुलेकको विषय जसरी बाहिर आएको छ, त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्न दुवै देशको भ्रमणलाई सदुपयोग गर्नुपर्छ,’ उनी भन्छन् । लिपुलेक विवादको नेपालले कूटनीतिक ढंगले समाधान निकाल्नुपर्नेमा जोड दिँदै आचार्य यसै कारण प्रधानमन्त्रीको भ्रमण प्रभावित नहुने बताउँछन् ।
तर नेपाल भारत सम्बन्धका जानकार एवं इन्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका रिसर्चर डा. निहार नायक विवादित लम्बिए भ्रमणलाई प्रभावित पार्ने सक्ने बताउँछन् । ‘दुई ठुला देशले सहमति गरिसकेका छन् । यस विषयमा प्रधानमन्त्री ओलीले कूटनीतिक ढंगबाट दुवै देशसँग कुरा गर्नुपर्छ । अरु कुनै विकल्प छैन,’ उनी भन्छन् । यो विवाद लम्बिए नेपाललाई घाटा हुने उनको भनाइ छ । सामान्यतया लिपुलेक सीमा विवादकै कारण भ्रमणमा असर नपार्ने डा. नायक बताउँछन् । ‘तर लिपुलेकलाई नै मुख्य एजेन्डा बनाएमा प्रधानमन्त्रीको भ्रमण रद्द पनि हुन सक्छ,’ उनी भन्छन् ।