शंकास्पद रूपमा लुकाइ राखिएको १४ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ
-
मेराज हास्मी
- today६ भदौ २०८२
वीरगंज, ०६ भदौ – पर्सा प्रहरीले शंकास्पद तरिकाले मोटरसाइकलमा लुकाइ राखिएको नगदसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट स्रोत नखुलेको रु १४ लाख १३ हजार ५ सय नगद फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
बिहीवार साँझ वीरगंज महानगरपालिका–२, घुसुकपुर इदगाह चोक नजिकै रोकिन पुगेका दुईवटा मोटरसाइकलमा प्रहरीले चेकजाँच गर्दा उक्त रकम फेला परेको हो। भारतको नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २-०३-००२ प ५५४४ नम्बरको मोटरसाइकलमा फल्स सिलिङ बनाइ रकम लुकाइएको अवस्थामा भेटिएको हो।
पक्राउ पर्नेमा वीरगंज–२, घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बाराको महागढीमाई नगरपालिका–४, बगडमपुरका ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन्। उनीहरूको साथबाट रु १ हजार दरका १ हजार थान र रु ५ सय दरका ८२७ थान गरी कुल रु १४ लाख १३ हजार ५ सय बरामद गरिएको हो।
नगदको स्रोत नखुलेपछि उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत, पर्साबाट ५ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।