इजरायलले गाजा सिटी कब्जा गर्नका लागि योजनाबद्ध लडाँइका लागि भन्दै ६० हजार रिजर्भ सैनिकलाई बोलाएको छ।
गाजा सिटी कब्जाका लागि उसले स्थल आक्रमण तीब्र बनाउन ठूलो संख्यामा सैनिकहरुलाई बोलाएको हो।
इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन र कब्जा गर्न योजनाबद्ध भूमिगत आक्रमणअघि करिब ६० हजार रिजर्भ सैनिकलाई बोलाएको छ।
एक सैन्य अधिकारीका अनुसार यी रिजर्भ सैनिकहरू आगामी सेप्टेम्बरमा ड्युटीमा हाजिर हुने छन्। तर यस आक्रमणका लागि परिचालन गरिने अधिकांश सेना भने सक्रिय रूपमा कार्यरत सैनिक नै हुने छन्।
यो योजना अनुसारको तयारीस्वरूप हालैदेखि जैतून र जबालिया क्षेत्रमा सैनिकहरु संलग्न र तयार भइसकेका छन्।
यो योजनालाई रक्षामन्त्री इजरायल कात्जले मंगलबार स्वीकृति प्रदान गरेका हुन्।
यसलाई यसै हप्ताभित्र सुरक्षा क्याबिनेटमा प्रस्तुत गरिने छ।
इजरायलको सुरक्षाको रहस्य मानिने ‘रिजर्भ सैनिक’ को हुन्?
खासमा कुनै फिल्मी कहानीभन्दा कम होइन इजरायली ‘रिजर्भ सैनिक’ को कथा। एक डाक्टर आफ्नो क्लिनिक छाड्छ, एक शिक्षक कक्षाकोठाबाट बाहिरिन्छ र एक इन्जिनियर आफ्नो परियोजना अधुरै राखेर सेनाको वर्दी लगाउन दौडिन्छ। यो कुनै चलचित्रको दृश्य होइन, यो इजरायलको त्यो वास्तविक शक्ति हो, जसले उसलाई सधैं तम्तयार अवस्थामा राख्छ। यही शक्ति हो ‘रिजर्भ सैनिक प्रणाली’।
इजरायलमा हरेक नागरिकको जीवन अनिवार्य सैन्य सेवाबाट गुज्रिन्छ। पुरुषले करिब ३ वर्ष र महिलाले २ वर्ष देशको सेवा गरेपछि उनीहरू सामान्य नागरिक जीवनमा फर्किन्छन्। तर, उनीहरूको यो सैनिक यात्रा त्यहाँ रोकिँदैन, बरु एउटा नयाँ अध्याय सुरु हुन्छ, जहाँ उनीहरू ‘रिजर्भ सैनिक’ बन्छन्।
आफ्नो पेशा र परिवारसँग रमाइरहेका यी नागरिकहरू देशको एक अदृश्य शक्ति हुन्, जो सरकारको एउटै आदेशमा फेरि सैनिक बन्न तयार रहन्छन्। पुरुषहरूका लागि ४० वर्षको उमेरसम्म यो जिम्मेवारी कायम रहन्छ भने विशेष दक्षता भएकाहरूलाई अझ लामो समयसम्म बोलाउन सकिन्छ। उनीहरूलाई वर्षमा केही हप्ता तालिमका लागि बोलाएर सैन्य सीपलाई सधैं तिखारिन्छ। तर जब देशमाथि खतराको बादल मडारिन्छ, हजारौंको संख्यामा रहेका यी रिजर्भ सैनिकहरू आफ्नो सबै काम छाडेर तुरुन्तै मोर्चामा पुग्छन्।
यही प्रणालीले इजरायलको सानो सक्रिय सेनालाई (करिब १.७ लाख) संकटको बेला तुरुन्तै ४ देखि ६ लाखको विशाल फौजमा बदलिदिन्छ। कोही अग्रपंक्तिमा लड्छन्, कोही प्राविधिक र प्रशासनिक काम सम्हाल्छन् त कोही घाइतेको उपचारमा खटिन्छन्।
वास्तवमा, इजरायलको सुरक्षा उसको अत्याधुनिक हतियारमा मात्र होइन, देशको लागि लड्न सधैं तयार रहने यी ‘नागरिक-सेना’को अदम्य साहस अर्को बलियो फोर्स हो। यही फोर्सलाई गाजा सिटी कब्जा गर्नका लागि बोलाउने निर्णय भएको हो।
चिन्तित छन् मानवीय सहायता एजेन्सीहरु
गाजा सहरका सयौँ हजार प्यालेस्टिनीलाई खाली गर्न र दक्षिणी गाजास्थित आश्रयस्थलतर्फ जान आदेश दिइने पूर्वानुमान गरिएको छ। इजरायलका धेरै सहयोगी मुलुकहरूले यो योजनाको निन्दा गरेका छन्, जबकि संयुक्त राष्ट्रसंघ र अन्य गैर-सरकारी संस्थाहरूले अर्को आक्रमण र ठूलो संख्यामा हुने विस्थापनले २२ महिनादेखिको युद्धपछि बनेको भयानक मानवीय संकट थप गहिरिने बताएका छन्।
गत महिना हमाससँग भएको अप्रत्यक्ष वार्तामा युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा कुरा अघि बढ्न सकेको थिएन। यो वार्ता विफल भएपछि इजरायली सरकारले सम्पूर्ण गाजा क्षेत्रमा कब्जा गर्ने आफ्नो योजना घोषणा गरेको थियो। क्षेत्रीय मध्यस्थकर्ताहरू आक्रमण सुरु हुनु अघि नै सहमति कायम गर्न प्रयासरत छन्।
उनीहरूले हालै ६० दिनको युद्धविराम र अझै पनि गाजामा रहेका करिब ५० मध्ये आधा बन्धकलाई मुक्त गर्ने प्रस्ताव अघि सारेका छन्, जसलाई हमासले सोमबार स्वीकृति दिएको दाबी गरेको छ।
इजरायलले अहिलेसम्म औपचारिक जवाफ भने दिएको छैन। तर, इजरायली अधिकारीहरूले मंगलबार स्पष्ट पारेका छन् कि अब उनीहरू आंशिक सम्झौता स्वीकार गर्ने छैनन् र सबै बन्धक मुक्त हुने गरी पूर्ण सम्झौता मात्र स्वीकार गर्ने छन्।
हाल बाँकी रहेका बन्धकमध्ये मात्र करिब २० जना जीवित रहेको विश्वास गरिएको छ। इजरायल डिफेन्स फोर्सेस् (आइडीएफ) ले एक विज्ञप्ति जारी गर्दै मे महिनामा सुरु गरिएको आक्रमणको अर्को चरणका तयारीस्वरूप बुधबार ६० हजार रिजर्भ सैनिकलाई बोलाउने आदेश जारी गरिएको जनाएको छ।
अहिले खट्टिएका छन् २० हजार रिजर्भ सैनिक यससँगै, पहिले नै बोलाइएका २० हजार रिजर्भ सैनिकलाई हालको आदेशलाई थप लम्ब्याउने सूचना दिने तयारी पनि गरिएको छ।
एक इजरायली सैन्य अधिकारीका अनुसार वरिष्ठ कमाण्डरहरूले गाजा सहर भित्र र वरिपरिको क्षेत्रमा ‘क्रमिक’ र ‘सटिक’ सैन्य कारबाही गर्ने योजनालाई स्वीकृति दिएका छन्।
सेनाध्यक्ष लेफ्टिनेन्ट जनरल एयाल जामिरले आगामी केही दिनमै यसलाई अन्तिम रुप दिने अपेक्षा गरिएको छ। आधिकारिक भनाइअनुसार, यो आक्रमणमा पाँच डिभिजन सम्मिलित हुने छन्। ‘एकपटक यो अभियान पूरा भएपछि गाजाको स्वरूप पूर्ण रूपमा बदलिनेछ, र यो अघिल्तिरको जस्तो रहने छैन,’ इजरायली रक्षामन्त्रीको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ।
उनका अनुसार गाजा सहरका बासिन्दालाई दक्षिणी भागमा समुद्र किनार नजिकैको अल मवासी क्षेत्रमा स्थानान्तरण गर्ने योजना पनि स्वीकृत गरेको बताइन्छ।
त्यहाँ सेनाले थप खाद्य वितरण केन्द्र र अस्थायी फिल्ड अस्पतालहरू बनाउन सुरु गरिसकेको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने सेनाको मुख्य उद्देश्य भनेकै हमासले नियन्त्रणमा राखेका सबै बन्धकलाई मुक्त गराउनु र उक्त प्यालेस्टिनी सशस्त्र समूहलाई ‘पूर्ण रूपमा पराजित गर्नु’ रहेको बताएका छन्।
आइडिएफले बुधबार घोषणा गरेको अनुसार गिवाती ब्रिगेडले गाजाको उत्तरी शहर जबालिया र गाजा सहरको बाहिरी भागमा पुनः कारबाही सुरु गरिसकेको छ।
सेनाले त्यहाँ ‘माथिल्लो र भुइँमुनि रहेका सैन्य संरचनाहरू ध्वस्त पार्दै, लडाकुहरूलाई समाप्त गर्दै र सञ्चालन नियन्त्रण मजबुत गर्दै’ अघि बढेको जनाएको छ। यसै क्रममा, सामान्य नागरिकलाई दक्षिणतर्फ जान भनिएको छ, ताकि हानिको जोखिम कम गर्न सकियोस्।
गाजाको हमास–नियन्त्रित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद बस्सालले मंगलबार एएफपीलाइ भनेका थिए कि सहरको जैतून र सब्रा क्षेत्रमा अवस्था अत्यन्त खतरनाक र असह्य बनेको छ, जहाँ तोपखाना र बमबारी बीच-बीचमा निरन्तर भइरहेको छ।
एजेन्सीका अनुसार, बुधबार मात्र गाजाभरि भएको इजरायली आक्रमण र गोलीबारीमा २१ जनाको मृत्यु भएको छ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ कि गाजा सहरको पश्चिममा रहेको शाती शरणार्थी शिविरमा एउटा घरमा बम खस्दा तीन बच्चा र उनीहरूका आमाबाबुको ज्यान गएको छ।
मानवीय संकट थप भयावह हुने
संयुक्त राष्ट्रसंघका निकायहरू र गैर–सरकारी संस्थाहरूले नयाँ आक्रमणले मानवीय संकट झन् भयावह बनाउने चेतावनी दिएका छन्। गाजा सहरमा इजरायलले सैन्य कारबाही अझै तीव्र बनाउने योजना त्यहाँका मानिसहरूका लागि भयानक मानवीय असर निम्त्याउने उनीहरुले बताउँदै आएका छन्।
ती मानिसहरू पहिले नै थकित, कुपोषित, परिवार गुमाएका, विस्थापित र ज्यान–धान्नै आवश्यक आधारभूत वस्तुहरूबाट बञ्चित रहेको जनाइएको छ।
अब यही प्रक्रियामा सयौँ हजारलाई दक्षिणतर्फ जबरजस्ती धकेल्नु अर्को ठूलो विपत्तिको उपाय हो र यसलाई बलपूर्वक विस्थापनको रूपमा पनि लिन सकिन्छ। उनीहरूले थपे, दक्षिणका ती क्षेत्र जहाँ विस्थापितहरूलाई पठाउन लागिएको छ, जहाँ पहिले नै भीडभाड भएका र ठूलो संख्यामा मानिसलाई बस्नसक्ने आधारभूत संरचनै नभएको ठाउँ हो।
गाजाको अधिकांश जनसंख्या पटक–पटक विस्थापित भएका छन्; करिब ९०% घरधुरी क्षतिग्रस्त वा ध्वस्त भएका अनुमान गरिएको छ; स्वास्थ्य, पानी, सरसफाइ र सरसफाइ प्रणाली पूर्ण रूपमा ध्वस्त छ। संयुक्त राष्ट्रसंघ–समर्थित खाद्य सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन् कि खाद्य अभावका कारण मानिसहरु खान नपाएर कुपोषित भएर ढलिरहेका छन्।