गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
-
अग्निपथ सम्बादाता
- today१३ असार २०८२
बिरगंज पर्सा – कानुनमन्त्री अजय चौरसियाको सत्ताको आडमा पर्सागढीका विवादास्पद पूर्वमेयर लोकनारायण यादवले गर्भपतन मुद्दामा पक्राउ परेकी जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादवलाई अदालतबाट ७५ हजार धरौटीमा छुटाउने खेल सफल बनाएका छन्।
थुनछेक बहसमा अदालतले धरौटीमा रिहा गरे पनि, त्यो रिहाइ कानुनी होइन, ‘राजनीतिक सेटिङ्गको साटाघाटीयो उपज’ भएको तथ्यहरू झनै खतरनाक रुपमा सतहमा आएका छन्।
धरौटी खुल्नासाथ नै सुनिता यादवका श्रीमान् बिरेन्द्र यादवका जेठो दाजु नेपाली यादव पीडितको पक्षमा बोलेको व्यक्तिको घरमै पुगेर खुला धम्की दिन पुगे। कानूनको संरक्षणमा गुण्डागर्दी र दबाबको खेल खुलेआम भइरहँदा, राज्य संयन्त्र मौन छ – किनभने दोषीको पछाडि सत्ताको हात छ।
यसैबीच, पूर्वमेयर यादवले आरोपी सुनिता यादवकी बहिनी नीति यादवसँग मिलेर जग्गा हत्याउने खेलमा पनि भूमिका खेलेको खुलासा भएको छ। बिश्रामपुर गाउँपालिका, इटियाहीमा रहेको १४ कठ्ठा पोखरीमध्ये ४ कठ्ठा जग्गा पूर्वमेयरले लिने गरी सेटिङ्ग गरिएको प्रमाण बाहिर आएको छ। यो जग्गा ८७ वर्षीय वृद्ध बुबाको नाममा रहेको थियो, जसलाई छलकपट गरी नीति यादवको नाममा बकसपत्र गराइयो। मुद्दा मिलाइदिएबापत पूर्वमेयरले ४ कठ्ठा भाग पाएको स्रोतको दाबी छ।
स्थानीयवासीको कडा प्रतिक्रिया छ – “कालेकाले मिलेर खाउ भाले भन्ने उखान अब यथार्थ बनेको छ।” “पैसा बोल्ता है, कानुन होइन।” यस घटनाले देखाएको छ कि जब अपराधी सत्तासीन नेताहरूको संरक्षणमा हुन्छन्, तब उनीहरू न कानूनसँग डराउँछन्, न न्यायसँग लाज मान्छन्।
अहिले पीडित न्यायका लागि लडिरहेका छन्, तर अर्कोतर्फ आइतबार थप दुई आरोपी – पुनम यादव र अमृता यादवलाई पनि अदालतमा उपस्थित गराइ धरौटीमा निकाल्ने तयारी धमाधम भइरहेको छ। यो सबै न्यायिक प्रक्रियाको बद्नामी मात्र होइन, सत्ता, पैसा र पावरको कर्कस गठबन्धनले न्यायको लाशमाथि उभिएको विजय घोषणाजस्तै हो। अब प्रश्न उठ्छ – कानुनमन्त्री स्वयं अपराधीको ढाल बन्ने हो भने न्याय खोज्ने जनता कहाँ जाने? देश हेरेर बसिरहेको छ – यो न्याय प्रणाली, कि न्यायको मजाक?