सत्तारूढ गठबन्धन असफल, एमालेको हालीमुहालीले कांग्रेस निरीह: कांग्रेस नेता नैनसिंह महर
-
बिरेन्द्र यादब
- today१२ असार २०८२
काठमाडौँ / वीरगञ्ज, १२ असार – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्तारूढ गठबन्धनमा कांग्रेस कमजोर बन्दै गएको र वर्तमान सरकार जनतामा उत्साह जगाउन पूर्ण असफल भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले एमाले र कांग्रेसबीचको सातबुँदे सहमतिका आधारमा बनेको वर्तमान सरकार एक वर्ष पूरा हुँदा पनि जनताका पक्षमा उल्लेखनीय कार्य गर्न नसकेको टिप्पणी गरे। उनले भने, “यो सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनतालाई राहत दिने, उत्साह दिने खालको कुनै काम हुन सकेको छैन।
कांग्रेस सरकारमा रहँदा रहँदै निरीह बनेको छ, जुन अवस्था पार्टीकै कमजोरी हो।” नेता महरले कांग्रेस नेतृत्वले १५औँ महाधिवेशनको तयारीमा चासो नदिएकोप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमा महाधिवेशन सम्पन्न हुने सम्भावना क्षीण बन्दै गएको बताए। उनले समयमै महाधिवेशन गराउन देशभरका नेता–कार्यकर्ताले नेतृत्वमाथि दबाब दिनुपर्नेमा जोड दिए। फरक प्रसङ्गमा उनले संघीय सरकारले ल्याएको आगामी वर्षको बजेट मधेस प्रदेशप्रति विभेदकारी रहेको आरोप लगाए। “देशलाई सबैभन्दा धेरै राजस्व र रेमिट्यान्स दिने मधेस प्रदेश हो, तर बजेटमा त्यसअनुसार प्राथमिकता दिइएन,” महरले भने। उनले वर्तमान सत्ता संयन्त्रमा कांग्रेसकै उपस्थिती हुँदाहुँदै एमालेले आफूखुशी निर्णय गर्ने, कांग्रेसलाई कमजोर पार्ने प्रवृत्ति बढिरहेको बताए।
सरकारले ल्याएको बजेटलाई उनले "ब्रम्हलुट मच्चाउने सोचले प्रेरित" भएको भन्दै कडा आलोचना गरे। महरले राजनीतिक दलहरूमा शुद्धिकरणको आवश्यकता औंल्याउँदै, त्यसको सुरुवात कांग्रेसबाटै गर्नुपर्ने बताए। “राजनीतिक नेताहरू इमान्दार र चरित्रवान नहुँदासम्म सरकार जनताको हितमा काम गर्न सक्दैन,” उनले स्पष्ट पारे। नेता महरले बेरोजगारी हटाएर युवालाई स्वदेशमै अवसर दिन र विदेशिएका युवाहरूलाई फर्काउने खालको नीति ल्याउन पनि सरकारसँग माग गरे।
उक्त पत्रकार सम्मेलन नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी लगायतको सहभागिता रहेको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिए।