प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
-
बिराज यादव
- today२२ आश्विन २०८३
काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका केन्द्रीय सदस्य, जनसम्पर्क विभाग प्रमुख तथा पार्टी केन्द्रीय प्रवक्ता कृष्णप्रसाद शर्मा पन्थीले पार्टीले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दुराज्य, राष्ट्रिय पहिचान तथा जनअधिकारको संरक्षणलाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्। पार्टीले आफूलाई केन्द्रीय सदस्य, जनसम्पर्क विभाग प्रमुख तथा केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएकोमा पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलसहित पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, संगठन प्रमुख, समर्थक तथा सञ्चारजगतप्रति आभार व्यक्त गर्दै पन्थीले जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन्। पन्थीले देशको रक्षा, जनताको सुरक्षा, युवा स्वरोजगार, महिला सहभागिता तथा धर्म, संस्कृति र सभ्यताको संरक्षणलाई पार्टीको प्राथमिकतामा राखिएको बताए। उनका अनुसार देशमा संवैधानिक राजसंस्था आजको आवश्यकता मात्र नभई अपरिहार्य रहेको पार्टीको धारणा छ।
उनले वर्तमान सरकारले गर्ने सकारात्मक तथा रचनात्मक काममा पार्टीले सहयोग र समर्थन गर्ने तर सरकारका नकारात्मक गतिविधिको गम्भीर समीक्षा गर्दै आवश्यक ध्यानाकर्षण गराउने स्पष्ट पारे। पार्टीले शिक्षा र स्वास्थ्य सर्वसुलभ तथा निःशुल्क बनाउने, भ्रष्टाचार, बेथिति, विभेद, अत्याचार तथा सामाजिक विकृति–विसंगति अन्त्य गर्ने लक्ष्य लिएको पन्थीको भनाइ छ। साथै मिटरब्याज, लघुवित्त, बैंक तथा सहकारीबाट पीडित नागरिकको न्यायका लागि पार्टीले आवाज उठाउने उनले बताए। पन्थीले नेपाली धर्म, संस्कृति, संस्कार, पहिरन, रीतिरिवाज तथा राष्ट्रिय पहिचानको संरक्षणका लागि सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्। उनले नैतिक, अनुशासित, जवाफदेही र सिर्जनशील समाज निर्माण गर्दै भावी पुस्तालाई समुन्नत, भ्रष्टाचारमुक्त र सुरक्षित राष्ट्र हस्तान्तरण गर्नु पार्टीको साझा उद्देश्य रहेको बताएका छन्।