राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान
-
मेराज हास्मी
- today२९ भदौ २०८२
काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले नेतृत्वको केपी ओलीको शक्तिशाली सरकार ढलेर कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले हिजो (शुक्रबार) राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ खाएकी हुन् ।
उनी आज जेन-जीहरुको प्रदर्शनमा घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिईन् । सो क्रममा उनले आफू १८ घण्टा जनताको सेवामा खटिने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । प्रधानमन्त्री कार्कीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।
मन्त्रिपरिषद् विस्तारअघि जेन-जीहरुको आन्दोलनमा अगुवाई गरेका हामी नेपालका संयोजक सुदन गुरुङकहाँ ठूलो भीड लागेको छ । मन्त्री बन्न चाहनेहरुले सुदनसँग सम्पर्क बढाएका छन् । सुदनले नयाँ सरकारले पूराना सबै राजनीतिक नियुक्ती खारेज गर्नुपर्ने अडान राखेका छन् । उनले संवैधानिक नियुक्तीसमेत खारेज हुनुपर्ने अडान लिएका छन् । यस्तै, विभिन्न देशमा रहेका राजनीतिक प्रभावको कारण राजदूत भएकाहरुलाई पनि फिर्ता बोलाउनुपर्ने उनको पहिलो शर्त छ ।