नयाँ सरकार गठनका लागि चिनियाँ सक्रियता बढ्दो, वामपार्टीसँग राप्रपा जोडेर सरकार बनाउन दौडधूप
-
अग्निपथ सम्बादाता
- today०३ पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
काठमाडौं,३ पुस । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिशन (डीसीएम) वाङ सीनले राजनीतिक दलका नेताहरुसँग सम्पर्क बढाएका छन् । उनले शुक्रबार एमाले महासचिव शंकर पोखरेल, माओवादीका नेता शक्ति बस्नेत र शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको दाबी गरिएको छ ।
यद्यपि उनीहरुले यो विषयमा केही बोलेका छैनन् । ‘वाङले समय लिएको भन्ने सुनेको थिएँ, भेटघाट भयो होला’, माओवादी नेता बस्नेत निकट रहेका एक नेताले भने ।
वामगठबन्धनको सरकार बन्ने चर्चा चलिरहेका बेला चिनियाँ दूतावासका अधिकारीहरुले राजनीतिक भेटघाट शुरु गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार दूतावासका अधिकारीहरुले शुक्रबार र शनिबार राजनीतिक दलका नेताहरुलाई भेटघाट गरेको भए पनि त्यो कुरा सार्वजनिक गरेका छैनन् ।
उनीहरुले संसदमा दोस्रो ठूलो दल रहेको नेकपा एमाले र तेस्रो ठूलो दल बनेको माओवादीका नेताहरुलाई एक ठाउँमा राखेर सरकार बनाउने प्रयास गरिरहेका छन् ।
त्यसैगरी एमालेसँग सहकार्य गरेको राप्रपालाई पनि नजिक राख्न खोजेको स्रोतको दाबी छ । प्रतिनिधिसभा निर्वाचनमा १४ सिट जितेको राप्रपा अध्यक्ष लिङ्देनसँग डीसीएम वाङ सीङले सत्ता समीकरणबारे चासो राखेको स्रोतको दाबी छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एमाले अध्यक्षसँग भेटघाट गरिरहेका बेला सोही पार्टीका प्रवक्ता मुकुल ढकालले पनि शनिबार भारतीय दूतावासका अधिकारीहरुसँग भेटघाट गरेको स्रोतको दाबी छ ।
ढकालले राजदूतावासका राजनीतिक डेस्क चिफ प्रसन्न श्रीवास्तव र भारतीय खुफिया एजेन्सी रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागरसँग भेटघाट गरेका थिए । लामिछानेको पार्टीले सरकार जाने रहर गरिरहेको छ ।