वीरगञ्ज - रक्सौल मितेरी पुलसम्मको सडक कालोपत्र हुँदै, धुलो र धुँवा खानुपर्ने बाध्यता हट्ने
-
अग्निपथ सम्बादाता
- today२४ कार्तिक २०७९
अग्निपथ मिडिया
वीरगञ्ज, २५ कार्तिक । सिमावर्ती शहर रक्सौल र वीरगञ्ज आवतजावत गर्नेहरुले धुलो तथा धुवा खानुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
वीरगञ्जको रजतजयन्ती चौकदेखि मितेरी पूलसम्मको सडक स्तरोन्नती हुनेभएसँगै धुलो तथा धुवाको समस्याबाट सवारी चालक, यात्रु तथा पैदल यात्रुहरु मुक्त हुने भएका हुन् । नेपाल–भारत जोड्ने मुख्य नाका वीरगञ्ज–रक्सौलको मितेरी पुलको नेपाल तर्फ पर्ने १ सय ३७ मिटर सडक खण्ड कालोपत्रे गर्ने काम भइरहेको छ ।
रजतजयन्ती चोक देखि शंकराचार्यद्वार हुँदै मितेरी पुलसम्मको सडक कालोपत्र भएपछि आवागमनमा सहज हुने भएको छ । व्यापारिक विस्तार मार्ग विस्तार आयोजना कार्यालयमार्फत ठेक्का लिएको समा कन्स्ट्रक्सनले अहिले १४ मिटर चौडा सडक स्तरोन्नतीको काम गरीरहेको छ ।
अहिले एकातर्फको ७ मिटरमा प्राइम कोट भइरहेको छ । एकातर्फको काम सकिएपछि अर्कोतिर काम अघि बढाउने आयोजना कार्यालयले जनाएको छ । ५÷५ करोड रुपैयाँको दुई वटा प्याकेजमा सडक मर्मत गर्ने योजनाअनुरुप व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले दुई वटा प्याकेजमा ठेक्का लगाउने गरी ५ पुस २०७८ मा सूचना निकालेको थियो ।
जसमध्ये पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मका लागि सागर÷निरीक्ष जेभी र रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको १.३ किलोमिटर सडकका लागि समा कन्सट्रक्सनले आवेदन दिएका थिए ।
प्राविधिक मूल्यांकनमा दुवै कम्पनी पास भएपनि आर्थिक प्रस्ताव गर्दा सागर÷निरीक्ष जेभीले लागत अनुमान गरिएभन्दा ०.३४ प्रतिशत बढी रकम राखेर प्रस्ताव गरेपछि ठेक्का रद्ध गरियो । घण्टाघर क्षेत्रको सडक वीरगञ्ज महानगरपालिकाले कालोपत्रे नै गरिसकेको छ भने पावरहाउस चोकमा सडक अझै जीर्ण छ ।
चुनावभन्दा अघि नै एक चरणको कालोपत्रे सक्काउने गरी तिव्र गतिमा काम भइरहेको व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जिव कुमार गुप्ताले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवले जिर्ण सडक मर्मतका लागि ताकेता गर्दै आएका थिए ।
काम शुरु भएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सञ्जाल फेसबुकमा सबैको प्रयासले वीरगञ्जको मितेरी पुल–शंकराचार्य सडकखण्ड कालोपत्रे गर्ने कार्य शुरु भएको लेखेका छन् ।