अग्निपथ मिडिया
महोत्तरीको लोहारपट्टी नगरपालिका–६ बजार टोल नजिक एउटा पसल अगाडि ६/७ जना गफिंदै थिए । गएको हप्ता हामी त्यहाँ पुग्दा उनीहरूको हात–हातमा शरतसिंह भण्डारीको चुनावी पर्चा थियो । हामीले यहाँको चुनावी माहोल बुझ्न खोज्यौं । बीचबाट एकजनाले भने, ‘भर्खरै शरतसिंह पश्चिमतिर लाग्नुभयो । केही पर मात्र पुग्नुभयो होला । जानुस् न भेट भइहाल्छ !’ तर हामी भण्डारीलाई भेट्नपट्टि नलागेर उनीहरूकै कुरा सुन्न थाल्यौं ।
भण्डारी सत्ता गठबन्धनको एक दल लोसपाबाट महोत्तरी–२ मा उम्मेदवार छन् । यस क्षेत्रका निवर्तमान सांसद रहेकाले उनको भूमिका र उनले गरेका कामबारे हामीले स्थानीयसँग जिज्ञासा राख्यौं । ‘केही होइन, गरिबका लागि उनले केही गरेनन्’, भन्दै त्यहाँ उभिरहेकी ६० वर्षीया एकल महिला फुलकुमारी देवी हामीतिर आइन् ।
भण्डारीप्रति आक्रोश मिश्रित भाव उनको अनुहारमा सहजै देखिन्थ्यो । हामीले चुरो कुरा बुझ्ने प्रयास गर्यौं । २०७९ जेठ महिनामा उनका ६५ वर्षीय पति हुसेनी साहु बितेका रहेछन् । ग्यास्टिकको बिरामी थिए हुसेनी । एकल महिला फुलकुमारीले नजिकैको आफ्नो घर देखाउने आग्रह गर्दै हामीलाई त्यता लिएर गइन् । हामी उनको पछि लागेर गयौं ।
सम्पत्तिको नाममा पाँच धुर घडेरी । त्यसमै दुईवटा साना ओत लाग्ने टालीले छाएका छाप्रा । एउटा वर्षातमा पूरै चुहिन्छ । अर्को उनी सुत्ने छाप्राको एउटा छानो भासिएर भुइँ छुने अवस्थामा छ । निसन्तान भएको कारण उनलाई साथ दिने कोही छैनन् ।घरको अवस्था देखाउँदै आफ्नो पीडा सुनाइरहँदा उनको गहभरि आँसु छचल्कियो । ‘जेठमा पति बित्नुभयो । वर्षात्मा डुबानले मेरो घर खस्यो । यी हेर्नुस् त बस्न सक्ने अवस्था छैन । अर्काकोबाट पानी ल्याउँदा कहिलेकाहीं कराउँछन् । कहिलेकाहीं नदीमा पुग्छु । अरूले दिए खान्छु । मेरो त यो संसारमा कोही छैनन्’, उनले भनिन् ।
२०७४ को चुनावमा उनले भण्डारीलाई मत हालेकी थिइन् । यस्तो आपतविपतको बेला जनप्रतिनिधिबाट उनले एउटा कल र घर मर्मत गरिदिने अपेक्षा राखेकी थिइन् । तर, केहीबेर अघि मात्रै चुनावी प्रचारप्रसारको क्रममा भेटिएका भण्डारीले उनको सपना चकनाचुर पारिदिए । ‘मैले दुवै हात जोडेर बिन्ती गरें । उनले पहिला भोट दिनुस् भने । जितेपछि घर र कल दिन्छु भनेर आफ्नो बाटो लागे’, उनले विलौना गरिन् ।
गएको चुनावमा पनि कल दिने आश्वासन दिएका थिए भण्डारीले । चुनावमा आउँदा आश्वासन दिने र आपत् परेको बेला मतलबै नगर्ने नेताहरूको व्यवहारबाट दिक्क छिन् उनी । तर फेरि पनि उनले आशा मारेकी छैनन् । फुलकुमारीले भनिन्, ‘अब जसले मेरो घर बनाइदिन्छ र मलाई कल दिन्छ म उसैलाई भोट दिन्छु ।’
नेताको चाला देखेर विरक्त हुनेमा अर्का थिए बलवा नगरपालिका–११ रौजाका प्रेम राउत । उनी पेशाले किसान हुन् । हामीसँग भेट्दा उनी हातमा हँसिया बोकेर खेततिर जाँदैथिए । अघिल्लो चुनावमा भण्डारीलाई नै मत हालेका थिए ।
तर जितेर गएपछि उनले दुईवटा कार्यक्रममा मात्रै भण्डारीको अनुहार देख्न पाएको बताए । ‘रातु नदीको बाढीले बाँध भत्काएर खेतमा लगाएको धान पुरियो । धेरै क्षति गर्यो । आएर हेरेर गए । तर फेरि आएनन् । भोट लिए तर विकास गरिदिएनन् भनेर जनता रिसाए’, उनले भने । अब कसलाई मत हाल्ने विषयमा विचार गरिरहेको उनी बताउँछन् ।
बलवा नगरपालिका–१० धमौराका राकेशकुमार यादव भने भण्डारीको कामप्रति थोरै सन्तुष्ट भेटिए । उनले भने, ‘केही केही विकास त गर्नुभएको छ । ठीकठिकै छ । अब कसलाई मतदान गर्ने अहिले निर्णय लिएको छैन ।’
बलवा नगरपालिका–११ की ६० वर्षीया माको देवी चुनावमा मात्र नेताहरू आउने र मत पाएर गएपछि फर्केर नहेर्ने बानीले दिक्क छिन् । उनी भन्छिन्, ‘यी हेर्नुस् १० वर्षदेखि यो पुल बन्दैछ । तर, अझै सञ्चालनमा छैन । बाढीको बेला हामीलाई आउन–जान निकै समस्या हुन्छ । भण्डारीले केही गर्न सक्नुभएन । बरु वडाअध्यक्षहरूले अलि–अलि सडक बाटो बनाउने काम गरेका छन् ।’लोहारपट्टी नगरपालिका–४ बगरा बस्ने २२ वर्षीय दिपेश यादव पनि पाँच वर्षमा जनप्रतिनिधिले गरेको कामबाट सन्तुष्ट छैनन् । उनी कांग्रेस समर्थक हुन् । भण्डारीको काम आफ्नो गाउँठाउँमा शून्य रहेको भन्दै उनले असन्तुष्टि जनाए ।