अग्निपथ मिडिया
काठमाडौं २१, कार्तिक । ‘म यो पटक यहाँबाट सांसद भएर गएर नेपाली कांग्रेसको संसदीय दलको नेता लड्न चाहन्छु, जित्न चाहन्छु र कांग्रेसको संसदीय दलको नेता भएर यदि गठबन्धनले बहुमत प्राप्त गर्यो वा कांग्रेससँग बहुमत भयो भने कांग्रेसको तर्फबाट ड्राइभिङ सिटमा बसेर देशलाई अगाडि बढाउन चाहन्छु’ कांग्रेस महामन्त्री गगनकुमार थापाले कात्तिक पहिलो हप्ता एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा भनेका थिए ।
उनले त्यस क्रममा आफू काठमाडौं–४ बाट यसअघि नै दुई पटक निर्वाचित भएर सांसदको अनुभव लिएको, मन्त्री भएको र अहिले पार्टीको जिम्मेवारीमा पनि भएको भन्दै मुलुकको समस्या र समाधानको उपाय पनि खोजेर आएको बताएका थिए ।
काठमाडौं–४ बाट २०७० र २०७४ मा निर्वाचित भएका थापा तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर सांसद हुन मात्र चाहेका छैनन्, देशको प्रधानमन्त्री नै बन्न चाहेका छन् । उनको चाहना पूरा हुन्छ या हुन्न, त्यो बेग्लै कुरा हो, तर उनको यो एजेण्डाले मतदातालाई प्रभावित भने पारेको छ ।
२०३३ साउनमा काठमाडौंमा जन्मिएका थापा मैतीदेवी, रातोपुलका स्थायी बासिन्दा हुन् । नेविसंघमा संगठित भएर २०४६ सालको जनआन्दोलनबाट राजनीतिमा आएका उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
२०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति निर्वाचित भए । त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री र २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४औं महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए ।
थापाको संसदीय यात्रा चाहिं २०६४ सालमा संविधानसभामा समानुपातिक सभासदबाट सुरु भयो । २०७० को संविधानसभामा उनी काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भए, प्रतिनिधिसभामा ।
समसामयिक विषयका साथै शिक्षा र स्वास्थ्य समिति सदस्यका रूपमा सरकारलाई गरेका प्रखर प्रश्नहरूले संसदमा उनको उपस्थितिलाई अर्थपूर्ण बनायो ।
२०७० सालको निर्वाचनपछि संसदको कृषि तथा जलस्रोत समितिका सभापतिको रूपमा थापाले खेलेको भूमिकाले प्रशंसा पाएको थियो । २०७३ मा स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा सुधारका रणनीतिक योजनाहरू लागू गरे ।
२०५१ सालमा नेकपा (एमाले)को अल्पमतको सरकार थियो । गृहमन्त्री थिए, केपी शर्मा ओली । त्यतिबेला नेविसंघले आह्वान गरेको नेपाल बन्दको क्रममा थापा पहिलो पटक हिरासतमा परे ।
२०५९–२०६३ को अवधिमा त सरकारको हिरासत उनका लागि अस्थायी घर जस्तै भयो । उनीमाथि दुईपटक राजद्रोहको मुद्दा चल्यो ।
२०५९ देखि २०६३ सम्मको आन्दोलनमा नेपालमा गणतन्त्र स्थापनाको वातावरण बनाउनमा थापाले महत्वपूर्ण भूमिका खेले । त्यो सक्रियता र भूमिकाबाट उनी प्रखर युवा नेताको रूपमा स्थापित भए । त्यसयता लगातार राजनीतिक चर्चाको केन्द्रमा रहेका उनै गगन थापा यसपटक काठमाडौं–४ बाटै प्रतिनिधिसभामा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।
काठमाडौं–४ मा यसपटक नेकपा (एमाले)का डा. राजन भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. ठाकुरमोहन श्रेष्ठ प्रतिस्पर्धामा छन् । २०७४ मा वाम गठबन्धनको शक्तिका साथ चुनावी मैदानमा आएका भट्टराईलाई थापाले ३ हजार ४११ मतको फरकले हराएका थिए । त्यो बेला थापाले २१ हजार ५५१ र डा. भट्टराईले १८ हजार १४० मत पाएका थिए ।
गत स्थानीय चुनावमा काठमाडौं–४ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा कांग्रेसभन्दा एमाले थोरै अगाडि छ । उक्त चुनावमा एमाले १६ हजार ९८१, कांग्रेसले १६ हजार ८४, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ६८८, राप्रपाले २ हजार ३७६ र नेकपा (माओवादी केन्द्र)ले ८७३ पाएका छन् ।
उक्त चुनावमा अहिले विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले पनि ३१७ मत पाएको थियो । त्यस्तै, १ हजार ५६४ भोट स्वतन्त्र उम्मेदवारहरूको पक्षमा खसेको थियो ।
लोकप्रिय मानिएका कांग्रेस महामन्त्री थापा यसपटक सत्ता गठबन्धनको शक्तिसहित चुनावी मैदानमा छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यासीको उम्मेदवारी पनि आफूलाई समर्थन गराउँदै फिर्ता गराएका छन् ।
पुनर्जागरण पार्टीका अध्यक्ष श्याम गौतम भने प्रचार–प्रचारमा डटिरहेका छन् । मैनबत्ती चुनाव चिह्न पाएका उनी यसअघि नयाँ शक्ति पार्टी र जसपामा थिए ।
काठमाडौं–४ को समग्र अवस्था हेर्दा गठबन्धनको मत जोगाउन र सम्भावित अन्तर्घात रोक्न सक्दा थापाले ‘ह्याट्रिक’ गर्न पनि सक्छन् ।