मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
-
अग्निपथ सम्बादाता
- today१५ कार्तिक २०७९
वीरगञ्ज, १६ कार्तिक । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।
पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।
पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । मिथिलामा आज (कार्तिक शुक्ल नवमी) को दिनलाई कुष्माण्ड नवमीसमेत भन्ने गरिएको छ ।