रुपन्देहीका नौं जना पत्रकार पुरस्कृत : तटस्थ भूमिकामा रहन अध्यक्ष पोखरेलको आग्रह
-
अग्निपथ सम्बादाता
- today०९ कार्तिक २०७९
अग्नीपथ मिडिया
बुटवल,९ कार्तिक । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ रुपन्देहीले २०७५, २०७६ र २०७७ सालको उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार र सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आईतबार बुटवलमा आयोजना गरिएको वार्षिक साधारण सभामा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेखा भुसाल, यानेन्द्र जिसी र रामप्रसाद आचार्य, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट चन्द्रकान्त खनाल, कपिल ज्ञवाली र पुजा पन्थी तथा सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कारबाट नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेललाई सम्मान गरिएको हो ।
पुरस्कृत पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक महमद खान, बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्माले सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गर्नु भएको हो । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी ५० हजार रुपैया, बुटवल पब्लिक स्कुलको आर्थिक सहयोगमा स्थापना गरिएको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैया र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कारको राशी ५ हजार रुपैंया रहेको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको तटस्थ रहनुपर्ने गुणको अधिकतम प्रयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले सम्मुखमा निर्वाचन पनि रहेकाले यो समय तटस्थताको क्षमता प्रदर्शन गर्ने राम्रो अवसर पनि भएको बताउनु भयो । यसले नेपाली पत्रकारिताको विश्वसनीयता पनि बढाउने उहाँको भनाई छ । ‘दलहरुले कुनै प्रकारको प्रलोभन देखाएर वा पारिश्रमिक दिएर भएपनि हामीलाई प्रयोग गर्न पनि खोज्न सक्छन् ।’ उहाँले भन्नुभयो–‘त्यसबाट बचेर स्वतन्त्र र तटस्थ भएर काम गर्न जरुरी छ ।’
उहाँले सदस्यता सुद्धिकरणमा ससक्त निर्णय लिन शाखाहरुलाई आग्रह गर्नुभयो । उहाँले महासंघको प्राथमिकता पूर्ण प्रेस स्वतन्त्रा रहेको बताउँदै अझै पनि राज्य सञ्चालकहरु प्रेसमैत्री कानुन बनाउन उदार नदेखिनु दुःखको कुरा भएको भनाई राख्नुभयो । उहाँले निर्वाचन अगावै सबै उम्मेद्वारलाई प्रेस मैत्री कानुन बनाउने विषयमा धारणा माग्नुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई मोफसलको राजधानी भनिएपनि त्यस किसिमको विकास हुन नसकेको औंल्याउँदै त्यसका लागि नगरपालिकाबाट के गर्न सकिन्छ आफू तयार रहेको बताउनु भयो ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पत्रकारले तटस्थ र निश्पक्ष भएर काम गर्नुपर्ने बताउँदै आफूले गरेका काममा प्रशंसा भन्दा पनि रचनात्मक सुझावका लागि आग्रह गर्नुभयो । पत्रकारिताको विकासको लागि के गर्न सकिन्छ सुझाव दिन उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँले पत्रकारिता जगतको विकासको लागि आफू तयार रहेको बताउँदै स्थानीय तहबाट हुने काम कारवाहीमा रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्मा भुसाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।