वीरगञ्जका ६ वटा होटलले उपभोक्ता ठगेको भन्दै होटल व्यवसायी विरुद्ध अदालतमा रिट
-
रामाशंकर साह
- today०४ कार्तिक २०७९
अग्निपथ मिडिया
वीरगञ्ज ५ कार्तिक । मेनुमा राखिएको मुल्य भन्दा अतिरिक्त शुल्क लिनु कानुन विपरित रहेको भन्दै पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ निवासी कानुनका विद्यार्थी २१ वर्षीय अनिल कुमार साहले होटल तथा पर्यटन व्यवसायी संघ र अन्य ६ वटा होटलहरु विरुद्ध बुधबार उच्च अदालत, जनकपुरमा मुद्दा दायर गरेका हुन् ।
उनले जाहेर गरेको रिटमा सुनुवाई गर्दै बीरगञ्जका ६ वटा होटललाई पत्र पाएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्रमा अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न अदालते आदेश दिएको छ ।
बीरगञ्जको महावीरस्थान स्थित रहेको फुड कोर्ट फेमिली रेष्टुरेन्ट, श्रीपुर स्थित रहेको डिलाइट गो मिट एण्ड चिल, आदर्शनगरस्थित रहेको द बर्गर हाउस, वन ११ लन्जे, घण्टाघरस्थित रहेको इन्फिनिटी लन्ज र हल्ट माल्ट लन्जको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी भएको हो ।
‘उपभोक्ता संरक्षण ऐन, २०७५ ले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानी नोक्सानीवापत क्षतिपूर्ति उपलब्ध गराउने हक सुनिश्चित गरेको छ,’ फैसलामा भनिएको छ, ‘उक्त ऐनले वस्तु वा सेवाको प्रयोगबाट भएको हानी नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार उपभोक्तामा सुरक्षित गरेको देखिन्छ ।’