रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन बन्न पूग्यो
-
अग्निपथ सम्बादाता
- today०४ कार्तिक २०७९
अग्निपथ मिडिया
बुटवल,५ कात्तिक, । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले उम्मेदवार हुन अयोग्य भएको निर्वाचन अधिकृतको कार्यालयको निर्णयलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरेपछि गुरुङ उम्मेदवार बन्ने ढोका बन्द भएको हो । अब यो क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल प्रतिस्पर्धीविहीन जस्तै भएका छन् ।
दुईपटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका पौडेलसँग केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार छन् ।
यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए उम्मेदवारहरु १६ जना हुनेछन् ।
राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही–२ मा नेपाली कांग्रेसकै उम्मेदवार भएको भए पौडेलसँग रोचक प्रतिस्पर्धा हुन सक्ने तर अन्य दलको जोसुकै उम्मेदवार भए पनि पौडेललाई फरक नपर्ने अवस्था बनेको बताउँछन् । ‘रुपन्देही २ मा कांग्रेस बाहेक अरु दलले पौडेलसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन,’ आजादको तर्क छ, ‘कांग्रेसका मतदाताहरु पार्टीले जित्ने सम्भावना भएको क्षेत्र अरुलाई दिएर कहिले कुन दलको, कहिले कुन दलको चुनाव चिह्नमा भोट हाल्न निर्देशन दिंदा पक्कै पनि सबै कार्यकर्ताले स्वीकार्ने अवस्था देखिंदैन ।’