काठमाडौं–१ मा रमेश खरेल को चूनावी अभियान
-
अग्निपथ सम्बादाता
- today०४ कार्तिक २०७९
अग्निपथ मिडिया
काठमाडौं ४ कार्तिक ।क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका चार वटा वडा पर्छन् । त्यसमध्ये ३१ नम्बर वडा पनि एक हो । शुक्रबार बिहान नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले यो वडाको सुकुम्बासी बस्तीमा चुनाव प्रचार गर्ने कार्यतालिका बनाएका थिए ।
नेपाल प्रहरीका पूर्व डीआईजी खरेल हातमा प्रचार सामग्रीसहित बिहान ७ः१५ बजे ओमकारेश्वर मन्दिर आइपुगे । उनको साथमा अरू तीन जना थिए । तीमध्ये एक अञ्जना शाही यसै क्षेत्रको प्रदेश (ख) मा नेपाल सुशासन पार्टीको उम्मेदवार छिन् । बाँकी दुईसहित चारै जनाले हातमा प्रचार सामग्रीसहितको बन्द खाम बोकेका छन् ।
‘स्वतन्त्र राजनीतिक शक्ति नेपालको तर्फबाट २०७९ सालको विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४३, छठ र इद पर्वको हार्दिक मंगलमय शुभकामनासहित सप्रेम भेट ।’ बन्द खामको आवरणको बायाँतिर काठमाडौं १ मा प्रतिनिधिसभा उम्मेदवार खरेलको तस्वीर छ । माथिल्लो भागमा नेपालको झण्डा र दायाँतिर काखमा बच्चा लिएकी आमाको तस्वीर छ ।
‘बच्चालाई काखमा लिएकी आमा’ सुशासन पार्टीको चुनाव चिह्न हो । बन्द खाममा पार्टीको परिचय तथा संक्षिप्त घोषणापत्र, उम्मेदवारको प्रतिबद्धता र उम्मेदवारी किन लगायतका प्रचार सामग्री छन् । बिहानको ७ः३० बजे खरेलको चुनावी प्रचार सुरु भयो ।
खरेलको पहिलो भेट स्थानीय यज्ञबहादुर शाहसँग भयो । ओमकारेश्वर मन्दिर पछाडिको भागमा रहेको चियापसलमा शाह अर्का एक प्रौढसँग गफिंदै थिए । शाह राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभामा यसै क्षेत्रबाट उम्मेदवार बनेका रहेछन् । दुवैले आ–आफ्ना लागि मत मागे ।
खरेलसहितको प्रचार टोली लक्षित स्थानतिर अघि बढ्यो । उनको टोली मन्दिरबाट ५०० मिटर जति पूर्व लागेपछि वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा पुग्यो ।