डिएसपीसहित १० प्रहरी घाइते, बारा प्रहरीद्वारा ३४ राउण्ड अश्रुग्यास प्रहार
-
अग्निपथ सम्बादाता
- today०३ कार्तिक २०७९
वीरगञ्ज, ३ कार्तिक । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित त्रिवेणी स्पिनिंग उद्योगमा मजदुर र प्रहरीबिच झडप हुँदा प्रहरी नायब उपरीक्षकसहित १० जना घाइते भएका हुन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड फायर र ३४ राउण्ड अश्रुग्यास प्रहार गरेपनि अश्रूग्यासले काम नगर्दा प्रहरी घाइते भएका हुन् ।
बारामा बिहिवार भएको झडपका क्रममा अश्रु ग्यासले काम नगरेपछि प्रहरी घाइते भएका छन् ।
३४ राउण्ड अश्रुग्यास प्रहार गर्दा पनि सामान्य आवाज मात्रै आउनु बाहेक अरु केही काम नगर्दा प्रहरी घाइतेको संख्या बढेको झडपका प्रत्यक्षदर्शीले बताए । घाईते हुनेहरुमा प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल घाईते छन् ।
सशस्त्र प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवानहरु राजेश पूनः मगर, सदाम हुसेन, रुदल कुमार यादव, सुबोध कुमार यादव, सुरेन्द्र महतो घाईते छन् । उनीहरुलाई अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डक अस्पताल वीरगञ्जमा रिफर गरिएको प्रहरीले जनाएको छ ।