निर्वाचन आयोगको दलहरुमाथि सिकन्जा, उम्मेदवारहरुले आचारसहिताको उल्लघन गरे कडा कार्यवाही गरिने
-
अग्निपथ सम्बादाता
- today०१ कार्तिक २०७९
वीरगञ्ज, १ कार्तिक । पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकाहरुले निर्वाचनमा अधिकतम २९ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरुले गर्ने खर्चको सीमा निर्धारण गरेको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । जसअन्र्तगत पर्साको क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने छन् भने क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २९ लाख रुपैयाँभन्दा धेरै खर्च गर्न पाउने छैनन् ।
काठमाडौं क्षेत्र नम्बर १, ३, ६, ७ र ८ गरी पाँच क्षेत्रका उम्मेदवारले सबैभन्दा कम खर्च गर्नुपर्नेछ । त्यहाँका उम्मेदवारले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।
त्यस्तै, १७ निर्वाचन क्षेत्रमा अधिकतम २७ लाख, ६५ निर्वाचन क्षेत्रमा २९ लाख, ५२ निर्वाचन क्षेत्रमा ३१ लाख र २६ निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।
प्रदेशसभातर्फ ७० निर्वाचनमा १५ लाख, १४३ निर्वाचनमा १७ लाख, ५६ निर्वाचन क्षेत्रमा १९ लाख, २९ निर्वाचन क्षेत्रमा २१ लाख र ३२ निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।
राजनीतिक दलहरूको लागि समेत आयोगले खर्चको सीमा तोकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रति उम्मेदवार दुई लाख रुपैयाँ र प्रदेशसभा सदस्यको निर्वाचनतर्फ एक लाख ५० हजार रपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ ।
निर्वाचनमा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, छापा एवम् विद्युतीय माध्यममा प्रचार र कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनमा खर्च गर्न पाउँनेछन् ।