मधेस भवनमा शहीद प्रतिष्ठानका सदस्य यादव मृत फेला
-
संजय कुशवहा
- today२० फाल्गुन २०८१
वीरगञ्ज । मधेस भवनभित्र रहेको आवासमा मधेस शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहका अनुसार यादव आज बिहान करिब ७ बजे आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनको ओछ्यानमा बान्ता गरेको देखिएको भए पनि मृत्युको कारण स्पष्ट नभएको प्रहरीले जनाएको छ ।
मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने बताइएको छ ।