पारदर्शि र मर्यादित ढंगले अस्पताल सञ्चालन गर्न सञ्चालकहरुलाई एसपी मिश्रको आग्रह
-
संजय कुशवहा
- today१६ फाल्गुन २०८१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सरकारी तथा निजी अस्पतालका सञ्चालक तथा चिकित्सकहरूसँग मर्यादित व्यवसाय सञ्चालन तथा प्रवद्र्धनका विषयमा छलफल गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा बिहीबार बिहान आयोजित अन्तरक्रियात्मक कार्यक्रममा अस्पताल सञ्चालनका मापदण्ड, सुरक्षा व्यवस्था तथा मर्यादित सेवा प्रवाहका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सरकारी तथा निजी अस्पतालका सञ्चालकहरूलाई मापदण्ड अनुरूप अस्पताल सञ्चालन गर्न आग्रह गरे । उनले अस्पतालहरूले सेवा प्रवाहमा पारदर्शिता अपनाउँदै मर्यादित व्यवसायिक आचरणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा साउथसिटी हिमाल हस्पिटलका सञ्चालक नरेश प्रसाद यादव, वीरगञ्ज ओम हस्पिटलका सञ्चालक डा. जगतदीप, आशाराम हस्पिटलकी सञ्चालक निभा दासलगायत विभिन्न अस्पतालका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रहरी उपरीक्षक मिश्रले अस्पतालहरूमा कानुनी व्यवस्था अनुरूप काम गर्नुपर्ने बताउँदै, सेवा प्रवाहमा कुनै पनि लापरवाही भए आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिए । सहभागी चिकित्सक तथा अस्पताल सञ्चालकहरूले अस्पताल सञ्चालनमा देखिएका चुनौती तथा सुधारका सम्भावनाहरूबारे आफ्ना विचार राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गर्दै आएको छ ।