सरकारी सेवामा एकसाथ पुगेकी बाराका चार दिदीबहिनीको सङ्घर्ष र सफलताको कथा
-
संजय कुशवहा
- today१५ फाल्गुन २०८१
वीरगञ्ज । बाराको देवताल गाउँपालिकामा बस्ने शम्भु प्रसाद यादव र उनकी श्रीमती बबिता देवीको एउटा ठूलो सपना थियो—आफ्ना चार छोरीलाई सरकारी जागिरे बनाउने । उनीहरूको सपना हालै कान्छी छोरी गुन्जा यादव प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएसँगै पूरा भएको छ । मेहनत, लगन र पारिवारिक समर्थनको बलमा चारै दिदीबहिनीले सरकारी सेवामा आफ्नो स्थान बनाएर समाजका लागि प्रेरणाको स्रोत बनेका छन् ।
जेठी छोरी पूजा यादव हाल स्थानीय तहमा अधिकृत छैटौँ तहको पदमा कार्यरत छिन् । उनले आफ्नो मेहनतले परिवारको सफलताको आधारशिला तयार पारिन् । त्यस्तै, कविता यादव र पल्लवी यादवले सङ्घीय खरिदार पदमा कार्यरत भएर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । कान्छी छोरी गुन्जा यादवले भने भर्खरै प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएर परिवारको सपनालाई पूर्णता दिएकी छिन् ।
छोरीहरूलाई सरकारी जागिरे बनाउने शम्भु र बबिताको यात्रा सजिलो थिएन । सीमित स्रोतसाधन र ग्रामीण परिवेशका बाबजुद उनीहरूले छोरीहरूको शिक्षामा कुनै कसर बाँकी राखेनन् । छोरीहरूलाई पढाउनु मात्र होइन, उनीहरूलाई आत्मनिर्भर र सक्षम बनाउने उनीहरूको अठोट नै सफलताको मूल कारण बन्यो । आज चारै छोरीले सरकारी सेवामा प्रवेश गरेर आफ्ना बाबुआमाको सपना पूरा गर्नुका साथै मेहनत र सङ्कल्पले हरेक सपना पूरा गर्न सकिन्छ भन्ने समाजमा नयाँ सन्देश पनि दिएका छन् ।
यादव परिवारको कथा हरेक अभिभावक र युवायुवतीका लागि प्रेरणादायी छ । विशेष गरी छोरीहरूलाई अवसर र प्रोत्साहन दिँदा उनीहरूले कति ठूलो सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण यसले प्रमाणित गर्छ । चार दिदीबहिनीको यो उपलब्धिले गाउँमा मात्र होइन, देशभर नै चर्चा कमाएको छ । शम्भु र बबिताको गर्विलो मुस्कान र छोरीहरूको आत्मविश्वासले यो कथा अझै धेरैका लागि प्रेरणाको माध्यम बन्नेछ ।