१७ अलौमा एक जना बालिका पोखरीमा मृत फेला
-
बलिराम श्रीवास्तव
- today१५ फाल्गुन २०८१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ अलौ एक जना बालिका पोखरीमा मृत भेटिएकी छन् । स्थानीय दिपक यादवकी ३ वर्षीय छोरी रिंकी कुमारी यादव बुधवार मृत अवस्थामा फेला परेकी छन् । उनी सोही ठाउँ नजिकैको सार्वजनिक पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बालिकाको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । रिंकी हराएको भन्दै उनका अभिभावकले बुधवार बिहान प्रहरीमा उजुरी दिएका थिए । केही समयपछि स्थानीयबाट बालिका पोखरीमा डुबेको अवस्थामा फेला परेको सूचना प्राप्त भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक श्याम बस्नेतले बताए । प्रहरी टोली घटनास्थलमा पुग्नुअघि नै परिवारका सदस्यहरूले बालिकाको शव पोखरीबाट निकालेको उनले जानकारी दिए ।
“बच्चा बाँचिरहेको छ कि भन्ने आशङ्कामा परिवारका सदस्यहरूले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा शव निकालेका थिए,” इन्स्पेक्टर बस्नेतले भने । बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले बालिका खेल्ने क्रममा लडेर पोखरीमा खसेको हुन सक्ने अनुमान गरेको छ । यद्यपि, घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र विस्तृत जानकारी खुल्ने प्रहरीले जनाएको छ । घटनाले स्थानीय समुदायमा शोक र चिन्ता फैलिएको छ । प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाइरहेको छ ।