रौतहटमा बिना अनुमति सञ्चालन भएका पाँच औषधी पसलमा तालाबन्दी, एक विरुद्ध मुद्दा दर्ता
-
बलिराम श्रीवास्तव
- today१४ फाल्गुन २०८१
रौतहट । औषधी व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगञ्जको अनुगमन टोलीले रौतहटको विभिन्न स्थानमा प्रक्रिया पूरा नगरी सञ्चालन भएका पाँच वटा औषधी पसलमा तालाबन्दी गरेको छ । अनुगमनका क्रममा चन्द्रपुर नगरपालिकामा सञ्चालित चपुर सिटी हस्पिटलको फार्मेसी, डल्फिन फार्मेसी र आयु मेडिकल हल दर्ता प्रक्रिया पूरा नगरी सञ्चालन गरेको भेटिएपछि तालाबन्दी गरिएको शाखा प्रमुख अरबिन्द बानियाँले जानकारी दिएका छन् ।
त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरको औषधी पसल दर्ता प्रक्रियामा रहेकाले सात दिनभित्र आवश्यक कागजात पूरा गर्न निर्देशन दिइएको छ । नवीकरण नगरिएका फार्मेसीलाई पनि सात दिनको समयसीमा तोकिएको छ । यसैबीच, बिना दर्ता औषधी पसल सञ्चालन गरेको तथा प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा मौलापुरको पटेल मेडिकल हलका सञ्चालक ओमप्रकाश पटेल विरुद्ध जिल्ला अदालत गौरमा मुद्दा दर्ता गरिएको छ ।
बौधिमाई नगरपालिकाको कोपवामा पनि दुई वटा औषधी पसलमा सिलबन्दी गरिएको छ । पछिल्लो तीन दिनको अनुगमनमा करिब दुई दर्जनभन्दा बढी औषधी पसल जाँच गरिएको शाखा प्रमुख बानियाँले बताए । अनुगमन टोली आउने खबर पाएर केही व्यवसायी पसल बन्द गरी सम्पर्कविहीन भएकोसमेत जानकारी प्राप्त भएको छ ।