पुजारीलाई सम्मान र बालबालिकालाई भोजन वितरण गरेर हिन्दु स्वयंसेवक सङ्घ परवानीपुरले मनायो महाशिवरात्रि
-
कृष्ण प्रसाद शर्मा
- today१४ फाल्गुन २०८१
वीरगञ्ज । हिन्दु स्वयंसेवक सङ्घ परवानीपुर समितिले विभिन्न धार्मिक तथा सामाजिक कार्य गरेर महाशिवरात्रि पर्व मनाएको छ । वीरगञ्ज महानगरपालिका – २१ परवानीपुरस्थित हिन्दु स्वयंसेवक सङ्घले त्यस क्षेत्रमा रहेका ८ वटा मन्दिरका पुजारी एवम् बाबाहरूलाई धोती, कुर्ता तथा गम्छा वितरण गरेको छ । महाशिवरात्रि पर्वको अवसरमा मन्दिरका पुजारी एवम् बाबाहरूलाई सम्मान स्वरूप धोती, कुर्ता र गम्छा वितरण गरिएको समितिका नगर सहकार्यवाहक कृष्ण कुमारले बताए । उनकाअनुसार परवानीपुर मन्दिर, कृषि फर्म मन्दिर, ताजपुर मन्दिर, पटेल नगर मन्दिर, लिपनी मन्दिर लगायतका मन्दिरका पुजारीहरूलाई धोती, कुर्ता, गम्छा र साडी प्रदान गरिएको हो ।
हिन्दु धर्म संस्कृतिको संरक्षण एवं सम्मानका लागि धार्मिक एवम् सामाजिक कार्य गरेर पर्व मनाएको उनको भनाई छ । यस्तै समितिले वीरगञ्जस्थित ‘आमाको माया छात्रावास’ मा आश्रित बालबालिकाहरूका लागि विशेष भोजनको व्यवस्था गरेको छ । बालबालिकालाई भोजन गराएर उनीहरूसँगै खुसी साटासाट गर्दै पर्व मनाइएको सङ्घका स्वयंसेवक विकास महतोले बताए ।
स्वयंसेवकहरू ओमबाबु यादव, सञ्जय कुमार, राकेश यादव, रबी कुशवाह, रमेश कुशवाह, आनन्द यादव, हिन्दु स्वयंसेवक सङ्घ वीरगञ्जका रञ्जित साह लगायतको उपस्थितिमा धार्मिक एवम् सामाजिक कार्य गरिएको हो ।