पोखरिया मालपोत र नापीको चार मन्त्रीले उद्घाटन गर्ने चर्चा अब दुईमा सिमित
-
संजय कुशवहा
- today१४ फाल्गुन २०८१
वीरगञ्ज । पर्सा जिल्लावासीको लामो समयको पर्खाइ अब सकिएको छ पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा सुरु हुने भएको छ । सेवा केन्द्रको उद्घाटन आगामी बिहीबार एक विशेष समारोहबिच हुने तयारी छ । सुरुमा चार मन्त्रीले उद्घाटन गर्ने चर्चा रहे तापनि खानेपानी मन्त्री प्रदीप यादव मन्त्रालयको व्यस्तताका कारण सहभागी हुन नसक्ने भएका छन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको उपस्थिति पनि अनिश्चित छ । उनीसँग फोन सम्पर्क हुन सकेन ।
यद्यपि, पोखरिया नगरपालिकाको पछिल्लो सूचनाअनुसार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित खानेपानी मन्त्री यादव र कानुन मन्त्री चौरसियाले संयुक्त रूपमा यो सेवा केन्द्रको उद्घाटन गर्नेछन् ।
\सेवा केन्द्र सञ्चालनमा आएपछि पोखरियावासीले मालपोत र नापीसम्बन्धी साना-ठुला कामका लागि वीरगञ्ज पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दाहरूका लागि सेवा केन्द्र निकै सहज हुने स्थानीयको विश्वास छ । अब जग्गा नाप जाँच, मालपोत बुझाउने, नामसारीजस्ता सुविधा स्थानीय तहमै उपलब्ध हुने भएकाले प्रशासनिक कामकाज छिटो, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ । सेवा केन्द्र स्थापनाले नागरिकको समय र खर्च दुवैको बचत गर्नुका साथै सरकारी सेवालाई जनताको ढोकासम्म पुर्याउने सराहनीय प्रयासका रूपमा हेरिएको छ । घरदैलो मै स्थानीय मालपोत र नापी सेवा र सुविधा पाउने भएपछि उत्साहित छन् र आफ्नो दैनिक जीवनमा ठूलो राहत मिल्ने आशा राखेका छन् ।