रौतहटको पतौराधाम शिवमन्दिरमा नेपाल–भारतका कलाकारहरूको दर्शन
-
अशोक यादब
- today१४ फाल्गुन २०८१
रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाम शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारहरूले महाशिवरात्रिको अवसरमा दर्शन गरेका छन्। मधानी महोत्सवमा सहभागिता जनाउन पुगेका कलाकारहरूले आज विशेष पूजाआजा गर्दै महादेवको आशीर्वाद लिएका हुन्।
शिवमन्दिरमा दर्शन गर्ने कलाकारहरूमध्ये भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, चर्चित भोजपुरी गायक एवं अभिनेता रितेश पाण्डे, कुम्भ मेलाको 'वायरल गर्ल' मोनालिसा, भोजपुरी कलाकार मिंटुवा, गायक सुनिल पंडित, गायिका अनु चौधरी तथा नेपाली कलाकार गौरभनारायण राई रहेका छन्। उनीहरूले पतौराधाममा आयोजना भइरहेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका छन्। स्थानीय कलाकारहरूको समेत विशेष सहभागिता रहेको कार्यक्रममा धार्मिक तथा सांस्कृतिक झलक प्रस्तुत गरिएको छ।
पतौराधामस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यका साथ मौलापुर नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञ आयोजना गर्दै आइरहेको छ। महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।