वीरगञ्जमा ‘शिव सन्देश शान्ति पद यात्रा’ भव्य रूपमा सम्पन्न
-
दिपक सिंह
- today१३ फाल्गुन २०८१
वीरगञ्ज । शान्ति र एकताको सन्देश बोकेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वीरगञ्जमा आयोजना गरेको ‘शिव सन्देश शान्ति पद यात्रा’ भव्य रूपमा सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका – ४ बिर्तास्थित ॐ शान्ति भवनबाट सुरु भएको ‘शिव सन्देश शान्ति पद यात्रा’ सहरको मुख्य केन्द्रहरू घण्टाघर, मुर्लीलगायत विभिन्न क्षेत्रको परिक्रमा गर्दै छपकैयास्थित विश्व दर्शन भवनमा पुगेर समापन भएको थियो ।
पद यात्रा ८९औँ त्रिमूर्ति शिव जयन्तीको अवसरमा आयोजना गरिएको थियो आयोजकहरूले जनाएका छन् । भगवान् शिवको धर्तीमा अवतरण भएको ८८ वर्ष पूरा भई ८९औँ वर्षमा प्रवेश गरेको उत्सवलाई चिन्हित गरेको केन्द्रकी मुख्य सञ्चालक रबिना दिदीले बताइन । रबिना दिदी कै नेतृत्वमा आयोजित पद यात्रामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल र वडा नम्बर ४ का वडाध्यक्ष जगत् साह कानुलगायतका विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए ।
केन्द्रका बिके गोकुल गुबाजुका अनुसार पद यात्राको उद्देश्य वीरगञ्जसहित सम्पूर्ण राष्ट्रमा शान्ति, सद्भाव र एकता कायम गर्नु रहेको थियो । “शिव परमात्मालाई शङ्कर, पार्वती र समस्त आत्माहरूको एक मात्र पिता मानिन्छ । उहाँको सोही सन्देश जनजनसम्म पुर्याउन हामीले यो कार्यक्रम गरेका हौँ,” उनले भने ।
उनले भोलि बिहान साढे ७ बजेदेखि छपकैयाको विश्व दर्शन भवनमा शिवरात्रिसम्बन्धी आध्यात्मिक प्रवचन र शिव ध्वजा रोहण कार्यक्रम हुने जानकारी पनि दिए ।पद यात्रामा समाजसेवी प्रकाश थारु, भक्तजन र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले वीरगञ्जमा शान्ति र अध्यात्मको सन्देश फैलाउन महत्त्वपूर्ण योगदान दिएको सहभागीहरूले बताए ।