गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै दलित समुदायको प्रदर्शन
-
अमन गुप्ता
- today१२ फाल्गुन २०८१
गृहमन्त्री रमेश लेखकमाथि कारबाही र दलितमाथिको विभेद अन्त्यको माग गरी दलित समुदायले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारलाई दबाब दिन उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्। दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, अन्तरजातिय विवाह गर्दा गरिने जातिय हिंसा बन्द गर, दलितलाई खै ? लगायतका नारा लेखिएका ब्यानर लिएर उनीहरुले प्रदर्शन गरेका हुन्। दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा यस्तो प्रदर्शन भएको हो ।
अन्तरजातीय विवाह गर्ने सत्येन्द्र राम र नेहा रौनियारको जोडीलाई गृहमन्त्री लेखककै निर्देशनमा पटक–पटक पक्राउ गरिएको विषयमा दलित अधिकारकर्मीहरुले उनीमाथि छानविन र कारबाहीको माग गर्दै आएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाको अनुसन्धान गरिरहेको छ । उच्च तहका व्यक्ति नै मुछिएपछि गृह मन्त्रालयले भने यसमा छानविनको आँट गरेको छैन।