पर्साको जिराभवानीमा झाडीभित्र लुकाइएको ११ किलो चरेस बरामद
-
संजय कुशवहा
- today०७ फाल्गुन २०८१
वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले लागू औषध चरेस बरामद गरेको छ। गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नं. ५ स्थित भलुवाही खोलाबाट चरेस बरामद गरेको हो।
आज दिउँसो करिब २ बजे झाडीमा लुकाएर राखिएको अवस्थामा एक बोरा फेला परेको थियो। प्रहरीले खोल्दा बोराभित्र २४ वटा पोका चरेस जस्तो देखिने पदार्थ फेला परेको छ। नापतौल गर्दा ती पोकाहरूमा जम्मा ११ केजी ९५० ग्राम चरेस रहेको पुष्टि भएको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन्।
प्रहरीले लागू औषधको स्रोत पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ।