प्रकृति लम्सालको मृत्यु प्रकरणः वीरगञ्जमा अनेरास्ववियु र वीरगञ्ज स्कुल अफ ल द्वारा विरोध प्रदर्शन
-
बलिराम श्रीवास्तव
- today०६ फाल्गुन २०८१
वीरगञ्ज । भारतको ओडीशा राज्यस्थित प्रतिष्ठित शिक्षण संस्था कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा वीरगञ्जमा अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ ।
वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन भारतीय महावाणिज्य दूतावाससम्म लैजाने योजना रहेपनि प्रहरी हस्तक्षेपका कारण त्यसलाई रोकिएको अनेरास्ववियु पर्साका जिल्ला सचिव पवन यादवले जानकारी दिए । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारबाहीको माग गर्दै नेपाल सरकारलाई भारतीय पक्षसँग कूटनीतिक पहल गर्न आग्रह गरे । “विद्यार्थीहरु पढ्न भारत गएका हुन्, डरत्रासमा बस्न होइन । नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि सरकारले गम्भीर पहल गर्नुपर्छ”, यादवले भने ।
अनेरास्ववियू पर्साका महानगर अध्यक्ष आशिफ अहमदले घटनाले सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षामा गम्भीर प्रश्न उठाएको बताए । “नेपाली विद्यार्थी भारतमा असुरक्षित भइरहेका छन्, सम्बन्धित निकायले तुरुन्तै कदम नचाले नेपालभर आन्दोलन चर्किन्छ”, उनले चेतावनी दिए ।
विरोध प्रदर्शनको नेतृत्व गरेका अनेरास्ववियू पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारीले छात्रा प्रकृति लम्सालको मृत्यु रहस्यमय देखिएकाले भारत सरकार र सम्बन्धित शिक्षण संस्थाले स्पष्ट जवाफ दिनुपर्ने बताए । “यो घटनाको वास्तविकता छानबिन गरेर दोषीलाई कानूनी दायरामा ल्याइनुपर्छ । अनेरास्ववियूले पीडित परिवारलाई न्याय दिलाउन निरन्तर दबाब दिनेछ”, अन्सारीले भने ।
विरोध कार्यक्रममा अनेरास्ववियू पर्साका जिल्ला सचिव पवन यादव, महानगर अध्यक्ष आशिफ अहमद, ईकाई अध्यक्ष अर्मान हाश्मी, ईकाई सचिव सञ्जय यादवलगायत अनेरास्ववियुका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच वीरगञ्ज स्कुल अफ ल ले पनि वीरगञ्जमा दीप प्रज्वलन गरेको छ । मृतक लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिन दीप प्रज्वलनसँगै प्रदर्शन गरिएको वीरगञ्ज स्कुल अफ ल का प्रबन्ध निर्देशक अधिवक्ता सुधिर कर्णले बताए । सो अवसरमा कलेजमा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुको सहभागिता रहेका थिए ।