महाकुम्भ : माघी पूर्णिमाका दिन दुई करोड भन्दा बढीले गरे सङ्गम नदीमा पवित्र स्नान
-
संजय कुशवहा
- today०१ फाल्गुन २०८१
वीरगञ्ज । माघी पूर्णिमाको दिन महाकुम्भ मेलामा दुई करोडभन्दा बढी श्रद्धालुहरूले सङ्गम नदीमा पवित्र स्नान गरेका छन् । भारतीय सरकारी अधिकारीहरूको अनुसार, माघी पूर्णिमाको अवसरमा बुधवार बिहानदेखि साँझ बजेसम्म भारत, नेपाल र अन्य देशबाट गएका दुई करोडभन्दा बढी श्रद्धालुहरूले सङ्गम नदीमा पवित्र स्नान गरेका हुन् । समग्रमा महाकुम्भ मेलाको सुरुदेखि हालसम्म ४७ करोडभन्दा बढी श्रद्धालुहरूले सङ्गम स्नान गरिसकेको भारतीय सरकारी अधिकारीहरूको दाबी छ । नेपालबाट समेत झन्डै ५० लाखभन्दा बढी श्रद्धालुहरूले सङ्गम नदीमा स्नान गरेको बुझिएको छ ।
स्नानको अवसरमा श्रद्धालुहरूको स्वागत स्वरूप हेलिकप्टरबाट फूल वर्षा गरिएको थियो । मुख्यमन्त्री योगी आदित्यनाथले माघी पूर्णिमाको पावन अवसरमा श्रद्धालुहरूलाई शुभकामना व्यक्त गरेका थिए । उनले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भने, “महाकुम्भ २०२५, प्रयागराजमा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न आएका सम्पूर्ण सन्त, धार्मिक गुरु, कल्पवासी तथा भक्तजनहरूलाई हार्दिक शुभकामना । भगवान् श्री हरिको कृपाले सबैको जीवनमा सुख, समृद्धि र शुभ लाभ प्राप्त होस् । माता गङ्गा, माता यमुना र माता सरस्वतीले सबैको मनोकामना पूरा गरून् ।”
माघी पूर्णिमाको स्नानसँगै, एक महिने ‘कल्पवास’ समाप्त भएको छ । यस अवधिमा झन्डै १० लाख कल्पवासीहरूले सङ्गम क्षेत्रमा धार्मिक अनुष्ठान गर्दै समय व्यतीत गरेका थिए । प्रशासनले उनीहरूलाई निर्धारित यातायात नियमहरू पालना गर्न र अधिकृत पार्किङ स्थल मात्र प्रयोग गर्न अनुरोध गरेको छ । यसअघि माघ अमावस्याको ‘अमृत स्नान’ को क्रममा जनवरी २९ मा मेला क्षेत्रमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए । उत्तर प्रदेश सरकारले उक्त घटनाबाट पाठ सिक्दै यस पटक थप सुरक्षा उपायहरू अपनाएको छ । महाकुम्भ मेला आगामी फेब्रुअरी २६ तारिख महाशिवरात्रिको दिन हुने अन्तिम ‘अमृत स्नान’ पछि समापन हुनेछ ।