ठमेलमा प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी
-
बलिराम श्रीवास्तव
- today२९ माघ २०८१
काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको छ । यही घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका जोशी सहितको समूहले गत बिहीबार ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ । आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । पक्राउ परेका दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन । माथिल्लो तहबाट दबाब आएपछि प्रहरीले जोशीविरुद्ध पक्राउ पुर्जीका लागि प्रशासनसँग अनुमति समेत नमागेको प्रहरी स्रोत बताउँछ । ‘मुख्यगरी, जोशीकै आडमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तर, माथिल्लो तहबाट प्रेसर आएकै कारण उनलाई उन्मुक्ति दिएर बाँकी पाँच जना विरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको छ,’ परिसरका एक अधिकृतले अनलाइनखबरसँग भने ।
जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ । पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत २६ वर्षीय दिनेश सिग्देल र २२ वर्षीय रमेश फुलारा
तर, आफ्नो समूहका व्यक्तिले प्रहरीमाथि कुटपिट गरिसकेपछि भने जोशीले छुट्याएजसो गरेको भिडिओमा देखिन्छ ।
आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका कमलराज जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ । यसैलाई आधारमा मान्दै उनीविरुद्ध अहिले पक्राउ पुर्जी माग नगरिएको एक प्रहरी अधिकारीको तर्क छ । ‘सार्वजनिक भएको भिडिओमा पनि देख्न सक्नु हुन्छ । प्रहरीमाथि आफ्नो समूहले आक्रमण गर्न लाग्दा उनले छुटउन खोजेको जस्तो देखिन्छ । त्यही भएर पक्राउ पुर्जीका लागि माग नगरिएको हो,’ एक अनुसन्धान अधिकारीले दाबी गरे । प्रहरीमाथि कुटपिट गर्नेलाई उन्मुक्ति दिनुले अपराधको राजनीतिकरण कसरी हुन्छ भन्ने पछिल्लो केस स्टडीको रुपमा यो केस हुने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । ड्युटीमा खटिएको प्रहरीमाथि जसरी आक्रमण भएको छ, त्यो हेर्दा तत्कालै समाएर कारबाही गर्नुपर्ने देखिन्छ । तर उन्मुक्ति दिने खेल भएको छ भने यसले समग्र पुलिसिङमै असर पार्छ,’ मल्लले भने ।
जोशीका बारेमा प्रहरी अधिकारीहरुले अहिले नै खुलेर बोल्न चाहेका छैनन् । अनुसन्धानकै क्रम चलिरहेको भन्दै परिसरका एसएसपी विश्व अधिकारीले भने थप खुलेको अवस्थामा कानुन बमोजिम हुने बताए । ‘अहिले यो विषय अनुसन्धानकै क्रममा छ । दुईजना पक्राउ परिसकेका छन् । अनुसन्धानबाट खुलेका विषयहरु कानुन बमोजिम हुन्छन्,’ एसएसपी अधिकारीले भने । प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक हुँदा समेत कारबाही नगरी उन्मुक्ति दिनुले कुटाई खाने प्रहरी मात्रै नभएर सिंगो प्रहरी संगठनकै मनोबल गिर्ने सुरक्षा मामलाका जानकारहरु बताउँछन् । प्रहरी कुट्ने विवादास्पद समूह ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा लागेका व्यक्तिहरु विवादास्पद समूह रहेको खुलेको छ । अहिले उन्मुक्ति पाएका अखिल नेता जोशीको घर बझाङ हो । बझाङको साविक मौलाली गाविस-३ हाल दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीको पृष्ठभूमि पनि निकै विवादास्पद छ ।
यसअघि अस्कल क्याम्पसकै विद्यार्थी विकास राईलाई आक्रमण गरेको आरोपमा जोशीसहित पाँच जनाविरुद्ध १६ माघ २०७९ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो । त्यतिबेला पनि जोशीलाई पक्राउ नै नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । जोशीसहित त्यतिबेला अहिले पक्राउ परेका दिनेश सिग्देल, हाल फरार रहेका गोपालबहादुर शाहीविरुद्ध पनि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो । यो समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसमा विकास राईमाथि आक्रमण गरेको थियो । उनीहरुको आक्रमणमा परेका राईको त्यतिबेला टाउकामा ९ वटा टाँका लगाउनु परेको थियो ।
अदालतमा मुद्दा रहेकै बेला जोशीले स्ववियु चुनावमा सभापति पदका लागि उम्मेदवारी समेत दिएका थिए । त्यतिबेला फौजदारी आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्ति उम्मेदवार हुनु नहुने भन्दै विभिन्न विद्यार्थी संगठनहरूले विज्ञप्ति निकाल्दै २८ फागुन २०७९ मा अस्कल क्याम्पसमा तालाबन्दी गरेका थिए । त्यतिबेला ज्यान मार्ने उद्योगमा मुद्दा चलेका उनै जोशी, सिग्देल र हाल फरार रहेका शाही सहितको समूहबाट प्रहरीमाथि कुटपिट भएको हो । यसका साथै जोशीसहितका व्यक्तिले अस्कल क्याम्पसकै प्रमुख डा. लोकबहादुर बराललाई आक्रमण गरेको भन्दै परिसर काठमाडौंको टोलीले २०८० कात्तिकमा पक्राउ गरेको थियो । पछि उनी धरौटीमा छुटेका थिए ।