प्रतिनिधिसभातर्फ रुपन्देही–२ मा उम्मेदवारीका लागि एमालेबाट विष्णु पौडेलको नाम सिफारिस
-
अग्निपथ सम्बादाता
- today२० भदौ २०७९
नेकपा एमालेले रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम सिफारिस गरेको छ । पौडेललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमालेले जनाएको छ ।पौडेलले ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांगे्रसका नेता युवराज गिरीलाई पराजित गरेका थिए । पौडेल यो क्षेत्रबाट लगातार तीन पटक विजयी भएका छन् ।
त्यस्तै एमालेका नेता घनश्याम भुसाल रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । एमालेले भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
घनश्याम भुसाल २०७४ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट राप्रपा–कांग्रेस गठबन्धनका उम्मेदवार दिपक बोहोरालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । घिमिरे २०७४ सालको स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा विजयी भएका थिए ।
त्यसैगरी एमालेले विर्वाचन क्षेत्र नं. ५ मा नेता खिमलाल देवकोटालाई उम्मेदवार सिफारिस गरेको छ । यसअघि ०७४ सालको निर्वाचनमा क्षेत्र नं ५ मा तत्कालीन वाम गठबन्धनबाट माओवादीका डिलाराम आचार्यलाई हराउँदै कांग्रेसका भरत शाह बिजयी भएका थिए । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीका अनुसार आइतबारको बैठकले यी तीन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो ।