कांग्रेसले पुरानालाई नै दोहोर्याउने भएपछि धनुषा– ३ ‘क’ बाट ललन चौधरीको उम्मेदवारी घोषणा
-
अग्निपथ सम्बादाता
- today१९ भदौ २०७९
पञ्चायती शासनविरुद्ध संघर्ष गरेका ‘जिउँदो सहिद’ उपनाम पाएका ललन चौधरीले प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका योद्धा समेत रहेका नेता चौधरीलाई धनुषा कांग्रेसले बेवास्ता गरेको र पटकपटक अवसर पाएकै व्यक्तिलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट आफू उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन् ।
२०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलनका अगुवा समेत रहेका नेता चौधरीले साथीभाइ, शुभचिन्तक, समर्थकहरुको व्यापक दबाब रहेकाले आफूले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने तयारी थालेको बताए । उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई आफूले पटकपटक सहयोग, समर्थन र साथ दिँदासमेत आफ्नो अवमूल्यन गरेकाले आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।
कांग्रेसले नेता निधिको सिफारिसमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई नै पुनः प्रदेशसभा सदस्यका लागि सफारिस गरेपछि चौधरीले स्वतन्त्र रुपमै भए पनि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले कांग्रेसले कार्यकर्ताको उचित मूल्यांकन समेत गर्न नसकेको र लोकतन्त्रका लागि लडेको पार्टीले नेता कार्यकर्ताको मनोभावना नै नबुझेर अवसरवादी व्यक्तिलाई नै विभिन्न पटक अवसर दिने गरेकाले आफूले उम्मेदवारी दिने स्पष्ट पारे ।