बसको झ्यालबाट टाउको बाहिर निकाल्ने बालकको रुखमा ठोकिएर मृत्यु
-
अग्निपथ सम्बादाता
- today१७ कार्तिक २०७९
काठमाडौ १७ कार्तिक । लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ। दिउँसो साढे ३ बजे बा१क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले मृत्यु भएको हो। आयुष्मानले बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए। सोही क्रममा उनको टाउको सडक किनारमा रहेको रुखमा ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको हो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यस्तै काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्। बागमती प्रदेश ०२ ०१६प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो। सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिइसकेको छ।