छतवा नाकाबाट व्यापक तस्करी भइरहेको स्रोतको दाबी, प्रहरीको भूमिकामाथि प्रश्न
-
संजय कुशवाहा
- today२ कार्तिक २०८३
बारा ।बाराको इलाका प्रहरी कार्यालय छतवा अन्तर्गतका विभिन्न सीमा नाकाबाट भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ विभिन्न प्रकारका सामानको अवैध ओसारपसार भइरहेको स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार छतवा, खेखरीया, कल्याणपुर र घोडासहन आदर्श चोकलगायतका नाकाबाट खाद्यान्न, कपडा, चकलेट, सुर्तीजन्य पदार्थ, हार्डवेयर सामग्री, लसुन, स्याउ, कुखुरा तथा मोबाइल पार्ट्सलगायतका सामानको ओसारपसार भइरहेको बताइएको छ।
स्रोतको दाबीअनुसार उक्त क्षेत्रमा करिब ७० देखि ८० जना तस्करीमा संलग्न रहेको बताइन्छ।
विभिन्न नाकाबाट सामानको ओसारपसार भइरहेको दाबी
स्रोतका अनुसार छतवा नाकाबाट प्रेम र मुकेश पासवानको काजु, घिराजको किराना सामान, नरेश, गणेश र महेशलगायतका व्यक्तिको चकलेट तथा राकेशको कपडा भित्रिने गरेको दाबी गरिएको छ।
त्यस्तै, खेखरीया नाकाबाट सरोजको हार्डवेयर सामग्री, कल्याणपुर नाकाबाट सुरजको सुर्तीजन्य पदार्थ, राजन पटेलको कपडा र जयरामको कपडाको ओसारपसार हुने गरेको स्रोतको भनाइ छ। विभिन्न नाकाबाट राजनीगन्धालगायतका सुर्तीजन्य पदार्थसमेत नेपाल भित्रिने गरेको दाबी गरिएको छ।
घोडासहन आदर्श चोकबाट भोलाका ६ वटा मोटरसाइकलमार्फत मोबाइल पार्ट्स, चकलेट तथा स्थानीय कुखुरालगायतका सामान ओसारपसार हुने गरेको स्रोतले जनाएको छ। त्यसैगरी, ‘समसद फ्रेश हाउस’सँग सम्बन्धित तीनवटा मोटरसाइकलमार्फत कुखुरा ओसारपसार हुने गरेको दाबी गरिएको छ।
नेपालबाट भारततर्फ सामान लैजान कल्याणपुर क्षेत्रको नहर आसपासको बाटो प्रयोग हुने गरेको पनि स्रोतको भनाइ छ। उक्त मार्ग हुँदै चन्दन र राकेशको चाइनिज लसुन तथा स्याउ र आकाशको चाइनिज लसुन भारततर्फ लैजाने गरिएको दाबी गरिएको छ।
प्रहरी कर्मचारीमाथि रकम असुलीको आरोप
विभिन्न सीमा नाकाबाट भइरहेको भनिएको अवैध ओसारपसारका सम्बन्धमा इलाका प्रहरी कार्यालय छतवामा कार्यरत प्रहरी कर्मचारीहरूको भूमिकामाथि पनि स्रोतले प्रश्न उठाएको छ।
स्रोतले इलाका प्रहरी कार्यालय छतवाका प्रहरी नायब निरीक्षक कृष्णानन्द ठाकुरमाथि तस्करीमा संलग्न व्यक्तिहरूबाट मासिक रूपमा ७ देखि ८ लाख रुपैयाँसम्म रकम उठाउने गरेको आरोप लगाएको छ। प्रहरी वरिष्ठ हवल्दार रुपन पण्डितलाई घुमुवाका रूपमा परिचालन गरी दैनिक तथा मासिक रूपमा रकम संकलन गर्ने गरिएको स्रोतको दाबी छ।
त्यस्तै, सशस्त्र प्रहरी बलको छतवास्थित फर्वार्ड अपरेटिङ बेस (एफओबी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप थारूमाथि पनि दैनिक रूपमा रकम लिने गरेको आरोप स्रोतले लगाएको छ।
इलाका प्रहरी कार्यालय छतवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार रुपन पण्डितमाथि विभिन्न व्यक्तिबाट रकम उठाएर सामानको ओसारपसारमा सहजीकरण गर्ने गरेको आरोपसमेत लगाइएको छ।
आरोपमा नाम जोडिएका प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरूको आधिकारिक प्रतिक्रिया पनि प्राप्त हुन बाँकी छ।
छानबिन र आधिकारिक जवाफको आवश्यकता
सीमा क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार निकायको हो। यस्तो अवस्थामा विभिन्न नाकाबाट अवैध कारोबार भइरहेको भन्ने गुनासो सार्वजनिक भएपछि सम्बन्धित निकायले तथ्यमा आधारित छानबिन गर्नु आवश्यक देखिन्छ।