गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सुनुवाई जारी
-
कृष्ण प्रसाद शर्मा
- today१० माघ २०७९
Agnipath media - अग्निपथ मिडिया
११ माघ, काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।
संवैधानिक इजलासले यसअघि पेसी नसर्ने गरी मुद्दाको सुनुवाई गर्न भने अनुरुप लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ शुरु भएको हो । लामिछानेको मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा गठित संवैधानिक इजलासमा न्यायाशीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन ।
अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा लामिछानेविरुद्ध मुद्दा परेको हो । सो मुद्दामा सबै पक्षको लिखित जवाफ, बहस नोट र झिकाएका विवरणहरु आइसकेका छन् ।
संवैधानिक इजलासले उक्त प्रमाणहरुलाई हेर्दै पक्ष, विपक्ष र सरकारी वकिलहरुको बहस सुनेर फैसला सुनाउने छ । बहस नसकिएमा भने सर्वोच्चले अर्को दिनका लागि हेर्दा–हेर्दैमा राख्न सक्नेछ । यो मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र लामिछानेको सांसद तथा मन्त्रीको निरन्तरता तय गर्ने हुनाले उत्सुकताका साथ हेरिएको छ ।
यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अदालतले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित आजका लागि पूर्ण सुनुवाइको पेशी तोकेको थियो । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।