पर्साको ठोरीमा अलपत्र गाईको उद्धारका लागि मुख्यमन्त्रीको निर्देशन
-
बलिराम श्रीवास्तव
- today०९ फाल्गुन २०८१
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–५ मा रहेको एक गाई फार्ममा अलपत्र अवस्थामा छोडिएका २०० भन्दा बढी गाईहरूको उचित हेरचाहका लागि मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पशुविज्ञसहितको टोली पठाउन निर्देशन दिएका छन्।
फार्मका साझेदारहरूबीचको विवादका कारण गाईहरूको रेखदेख गर्ने कोही नभएपछि उनीहरू भोकभोकै रहेको सूचना प्राप्त भएसँगै मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई वस्तुस्थितिबारे थप जानकारी लिन र पशुविज्ञको टोली पठाउन आग्रह गरेका हुन्।
मुख्यमन्त्री सिंहले फार्मका ३ जना साझेदारलाई खोजी गरी गौसेवाप्रति जवाफदेही बनाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएका छन्। साथै, ठोरी गाउँपालिकाको नेतृत्वलाई गाईहरूको तत्काल हेरचाह तथा व्यवस्थापनका लागि अग्रसर हुन अनुरोध गरेका छन्।
केही दिनदेखि हेरचाहको अभावमा गाईहरू भोकभोकै परेका छन्, भने एक सुत्केरी गाईलाई समेत सहयोग गर्न कोही नभएको देखिएको छ। उनले अर्को व्यवस्था नभएसम्म गाईहरूको उचित सेवा सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।
स्मरणीय छ कि गाई नेपालका हिन्दू धर्मावलम्बीहरूका लागि पूजनीय जनावर हो भने नेपालले गाईलाई राष्ट्रिय जनावरको रूपमा मान्यता दिएको छ।