निजामती कर्मचारी संगठनको मन्त्री गुप्तासँग भेट: उच्च अदालतको फैसला कार्यान्वयन गराउन माग
-
बिराज यादव
- today०७ फाल्गुन २०८१
काठमाडौं, – नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गर्दै उच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारसँग दबाब दिएको छ। माघ ३० देखि फागुन १ गतेसम्म सम्पन्न १२औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री गुप्तासँग भेटवार्ता गरेको हो। संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहाल सहित पदाधिकारी टोलीले उच्च अदालत पाटनको फैसलाबमोजिम नेपाल प्रशासन सेवाको ४२६ रिक्त पद तत्काल विज्ञापन गर्नुपर्ने माग राखेको छ।
महिला नेतृत्व चयनमा ऐतिहासिक कदम! भेटका क्रममा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनमा पहिलो पटक महिला नेतृत्व चयन भएकोमा खुसी व्यक्त गर्दै यसलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गरे। साथै, नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्दै कर्मचारी कल्याणका लागि आफू प्रतिबद्ध रहने स्पष्ट संदेश दिए।
नेपाल निजामती कर्मचारी संगठन नेकपा (एमाले) सम्बद्ध संगठन हो। काठमाडौंमा सम्पन्न १२औँ महाधिवेशनले भवानी दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो। निजामती सेवाको सुधार, कर्मचारी कल्याण र न्यायिक आदेश कार्यान्वयनको माग गर्दै संगठनले सरकारले ठोस कदम चाल्नुपर्ने चेतावनी दिएको छ।
सरकार उच्च अदालतको आदेश कार्यान्वयन गर्न अग्रसर हुन्छ वा कर्मचारी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्छ? यो विषय चासोको केन्द्र बनेको छ।